दैनिक १५ घण्टा सडकमै सङ्घर्ष गर्छन् अधिकारी

नेपालखोज २०८० मंसिर २६ गते १६:३७

काठमाडाैं । जीवनको सङ्घर्ष तथा आधारभूत आवश्यकता परिपूर्तिका साथै अवसरको मुख्य जगको रूपमा काठमाडौं उपत्यकालाई लिइन्छ । यस उपत्यकामा रहेर सडक देखि सदन हाँक्ने सबैको आ–आफ्नै कथा र व्यथाहरू छन् । यहाँ दिनहुँ दुख र सङ्घर्षका कथाहरू भेटिन्छन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह निर्वाचित भएपछि फुटपाथमा व्यापार गर्ने परिपाटीको अन्त्य गरे । सर्वसाधारण हिँड्नै नसक्ने गरी सडक पेटी कब्जा गरेर व्यापार गर्ने अवस्थाबाट काठमाडौं कुरूप भएको भन्दै महानगरले हटाएको थियो । सटर भाडामा लिन नसक्ने तर हातमुख जोड्नको निमित्त लुकिछिपी सडक पेटीमा व्यापार गर्नेहरू अझै पनि भेटिन्छन् ।

यसरी सडक पेटीमा व्यापार गर्नेहरूको उचित व्यवस्थापन गर्न नसक्दा बेरोजगारी हुनेको सङ्ख्यामा भने वृद्धि भएको छ । सडकमा पेटीमा रोजगारी गर्नेहरूले आफ्नो रोजीरोटी गुमेको भन्दै दुखेसो पोख्ने गरेका छन् । यसमा राज्यले उचित स्थानको व्यवस्था गरी व्यापार गर्न दिने नीति ल्याउनुपर्ने उनीहरूको माग छ ।

अहिले पनि सडकका पेटीहरूमा हिँड्दै गर्दा सामानहरू बेचिरहेका मानिसहरू देख्न सकिन्छ । कोही ठेलामा मकै पोली रहेका, कोही फलफूल बेच्ने, कोही जुत्ता सिलाउने त कोही कपडा पिठ्युँमा बोकेर हिँड्ने गरेको भेटिन्छ । सडकका पेटी जहाँ मानिसहरूको चहलपहल अत्यधिक हुन्छ । त्यस्ता ठाउँहरूमा सानो तथा थोरै लगानीमा राम्रो आम्दानी गर्ने लक्ष्यले सडक पेटीमा विभिन्न सामान बेच्दै आइरहेका छन् डिल्ली अधिकारी ।

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बेलुवामा जन्मिनुभएका ६१ वर्षीय अधिकारी । साधारण परिवारका अधिकारीले गाउँकै सरकारी विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरे । कक्षा आठ उत्तीर्ण गरेका अधिकारी १८ वर्षको उमेरमा भारत गए ।

अधिकारीको भारत जानुमा कुनै खास लक्ष्य वा उद्देश्य भने थिएन । साथीहरूसँग रमाइलो गर्न र सके केही पैसा कमाउला भन्ने विचारमा आफू भारत गएको अधिकारीले बताए । अधिकारीका अनुसार – ‘म खासै केही उद्देश्य बोकेर भारत गएको होइन । साथीहरूले भारतमा यहाँ भन्दा छुट्टै जीवन हुन्छ । रमाइलो हुन्छ, यहाँ गर्न सकेको काम उता पनि गर्न सके केही कमाउन सकिन्छ भनेर गएका थियौँ ।’

अधिकारीले भारतको हिमाचल प्रदेशको सिम्लामा दाउरा काट्ने काम गर्न अवसर आएपछि दिनको पाँच रुपैयाँमा काम गर्न थाले । ‘२०४० सालतिरको भारतमा दिनको पाँच भारतीय रुपैयाँ कमाउनु सामान्य भने थिएन । ठेकेदारले टेबल बनाउनु पर्छ, काठ तयार पारेर राख्नु है भने बमोजिम हामीले काठ चिरानी गर्ने काम गर्थ्यौँ ।

छिटो तथा फुर्तिला स्वभावका अधिकारी समय अघि नै काम सकिदिने हुँदा ठेकदारको मन जित्न सफल भए । सुरुमा ठिकै थियो तर बिस्तारै समय बित्दै गएपछि ठेकदारले काम गर्दाको हिसाब पनि राम्रोसँग नदिने हुन थाल्यो । महिना भरी काम गरेको आधा पैसा पनि नदिने गरेर हामीलाई दुख दिन थाल्यो । अधिकारीले भने– ‘मैले त्यहाँ दुई वर्ष काम गरेर छाडिदिए ।’

काम छोडे पछि केही समय कामको खोजीमा भौँतारिएका अधिकारीले बगैँचाको रेखदेख गर्ने काम पाए । बगैँचा साहु खेल शङ्कर दुरलब सम्झँदै भन्छन्– ‘मलाइ भगवान् भेटेझैँ भयो । साहु नेपाली भने पछि हुरुक्कै हुने । परिवारको सदस्य जस्तै मान्नुहुन्थ्यो । मलाई २५० देखि ७५० सम्मको तलबमा बगैँचाको सम्पूर्ण जिम्मा दिनुभयो ।’

८० बिघा जमिनमा लगाइएको फलफूल, अङ्गुर, अमला, अम्बा, आँप, कटहर, मेवा, खरबुजा लगायतका विभिन्न फलफूल लगाइएको थियो । त्यस बगैँचामा रहेका सम्पूर्ण फलहरूको निगरानीका साथै गोडमेल, पानी हाल्ने, औषधी हाल्ने लगायतका काम गर्नुपर्थ्यो ।

नेपाल भारतको सङ्घर्ष तथा मनोरञ्जनमा १५ वर्ष बिताएको समय सम्झँदै अधिकारी भन्छन्– ‘मैले कमाएको भनेकै जिन्दगीका रमाइला यादहरू हुन पैसा त कसले पो नकमाएको होला र ? उनको प्रतिप्रश्न थियो ।

आफ्ना गाउँ घरमा भएको बाँझो जमिनमा पाखुरा बजारेर पुन कोदाली, हलो चलाएर परिवारको साथमा रहेका अधिकार तुलसीपुर झरे । २०७० सालमा आफ्नो पैतृक सम्पत्ति बेचेर तुलसीपुरको सहरमा घर बनाए । भारतमा सहरमा बसेको बानी, गाउँमा त्यति दुख गर्न मन लागेन । त्यसैले गाउँको १५ कट्ठा जमिन बेचेर तुलसीपुर सहरमा पाँच धुर जग्गा किनेर एक तले पक्की घर बनाएको अधिकारीले बताए ।

घर बनाएपछि पिरले पोल्न थालेको अधिकारी चार पाङ्ग्रो ठेलामा कस्मेटिक सामान, फलफूल तथा तरकारीहरू बेच्न थाले । ठेलामा निरन्तर सात वर्षसम्म मिहेनत गर्दा उनले दुई छोरीको पढाइ तथा विवाहको लागि खर्च जुटाए । जे होस भाग्यले चाहिँ साथ दिएको छ उनी थप्छन्– ‘ऋण गरेर छोरा छोरी पढाउनु तथा विवाह गर्नु परेको छैन, यसैमा सन्तुष्टि छु ।’

अधिकारी त्रिपुरेश्वरमा दुई वर्ष अगाडि देखि विभिन्न खालका सामान बेच्दै आएका छन् । गाउँमा पनि सोही काम गरेकाले त्यसैमा राम्रो फाइदा देखेपछि यस्तै सामान बेच्ने विचारमा काठमाडौं छिरेको उन बताउछन् ।

त्रिपुरेश्वर ‘नेपाल खानेपानी संस्थान’को अगाडि सानो म्याटको टुक्रा माथि केही प्याकेट औँठी, केही प्याकेट मास्क, नेल कटर, चाबी झुन्डाउने रिङ, साना पेपर काट्ने कैँची, दाह्री काट्ने मेसिन, हुप कपुर लगायतका सामान राखिएको छ । बाटोको छेउमै तौल नाप्ने मेसिन राखिएको छ । फुटपाथमा हिँड्ने केही मानिसहरू आफ्नो तौल नाप्ने गर्दछन् । अधिकारीले दैनिक १२ सय देखि १५ सय रुपैयाँ आम्दानी गर्ने गरेको बताए ।

बिहान ६ बजे देखि बेलुका ९ बजेसम्म गरेको सडक सङ्घर्ष गर्ने गरेको फलले सन्तुष्टि दिइरहेको उनको भनाइ छ । ‘दिनको १५ घण्टा चिसो भुँईमा बसेर यतिको लाभ हुन्छ । युवा पुस्ता विदेश पलाएन भइगए, अव आफूले हाम्रो पुस्ताकाले नगरेर सुखै छैन । अब साथमा भएको एउटा छोरा पनि क्यानडा जान्छु भनिरहेको छ । भन्दै अधिकारीले सुनाए।

बिहान चिसोमा आउनुको भने छुट्टै रहस्य छन् । बिहान मर्निङ वाकमा आउने मान्छेले आफ्नो तौल जाँच गर्दा नै एक दुई घण्टामा दुई देखि तीन सय कमाइ हुने उनि बताउछन् । थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने आधार मध्य एक हो तौल जाँच गर्नु । अधिकारी भन्छन्– ‘एक जनाको तौल जाँच गरेको १० रुपैयाँ लिने गरेको छु । बिहानको समय २० देखि ३० जनाले तौल जाँच गरे भने तीन सय सजिलै कमाउन सकिन्छ । मान्छेहरू दैनिक आफ्नो तौल जाँच्ने गर्दछन् । ’

नेपालमै गरे सम्भव छ भन्ने बुझेका अधिकारी भन्छन् ‘ यहाँ युवालाई यहीँ काम गर्न छि छि हुन्छ तर विदेशमा गएर भाँडा माझ्ने, शौचालय सफा गर्न तयार हुन्छन् । गर्न सके सडकबाट नै महिनामा ५० हजार कमाउन सकिन्छ भन्ने उनको सन्देश थियो ।-INS

प्रतिक्रिया