तरुण दलले भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने

भक्तपुर । नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ ।
तरुण दलले आज भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्पले क्षति पु¥याएका जिल्लामा अस्थायी आवास निर्माण अभियान सुरु गर्ने बताए ।
अध्यक्ष गुरुङले भने, ‘भूकम्पबाट आफ्नो बास गुमाएका पीडितको बस्ने बासको व्यवस्था गर्न हामी पुस १ गतेदेखि अस्थायी आवास निर्माण अभियान सुरु गर्दैछौँ, जाजरकोट र पश्चिम नेपालका जिल्लामा तरुण दलका दस्ताले ८० देखि एक सय वटासम्म अस्थायी टहरा निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्नेछ, देशभरका तरुणको सहयोगको साथ ६० जनाको टोली त्यस क्षेत्रमा खटिनेछ ।’ भूकम्प गएपछि तरुण दलले ती क्षेत्रमा न्यानो कपडा र खाद्यान्नका सामग्री वितरण गरिसकेको जानकारी दिँदै अध्यक्ष गुरुङले अब अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गर्ने भएको बताए ।
देशभरका वडा, पालिका, नगर, जिल्ला, प्रदेश र केन्द्रका तरुणबाट स्वतस्फूर्तरुपमा सङ्कलन भएको रकमबाट यो अभियान सञ्चालन गरेर अस्थायी आवास निर्माण एवं सामाजिक दायित्वमा देशभरका तरुणको भावना जोड्न लागेको बताउँदै उनले अस्थायी आवास निर्माणका लागि बाह्य सहयोग नलिई तरुण दलको आन्तरिक व्यवस्थापनबाटै अभियान सम्पन्न गर्ने बताए ।
पुस १ गतेदेखिको अभियानका लागि तरुण दलले काठमाडौंबाट २५ जना, कर्णालीबाट २० जनाको डकर्मी टोली र अन्य जिल्लाबाट सहभागि हुने तरुणसहित ६० जना अस्थायी टहरा निर्माणमा खटिने उनले बताए । भूकम्पका कारण त्यस क्षेत्रका हजारौँ नागरिक चिसोमा आवास बिहिन हुन पुगेको दुःखद् अवस्था र त्यहाँका वृद्धवृद्धा, बालबालिका, गर्भवतीमा थप समस्या परेको बेलामा नेपाल तरुण दलले अस्थायी आवास निर्माण गरेर राजनीतिमा मात्रै नभई मानव सेवामा पनि तरुण दल अग्रसर हुन्छ भन्ने सन्देश प्रवाह गर्ने भएको उनले बताए ।
केन्द्रीय बैठकमा पदाधिकारीलगायत केन्द्रीय सदस्यले विभिन्न राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै भूकम्पपीडित क्षेत्रमा अस्थायी टहरा निर्माणको सवालमा पारदर्शीरुपमा अगाडि बढ्ने र सामाजिक दायित्वलाई निरन्तरता दिने निर्णय गरेको छ । रासस
प्रतिक्रिया