सोमबार, वैशाख १५, २०८२

महिला नेत्रहीन क्रिकेट : भारतले जित्यो सिरिज, नेपाल ८ विकेटले पराजित

नेपालखोज २०८० मंसिर २८ गते १४:१७

काठमाडौं । घरेलु टोली भारतले एक खेल अगावै महिला नेत्रहीन टी-२० क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ ।

मुम्बईमा भइरहेको सिरिज अन्तर्गत बिहीबार भएको चौथो खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारतले ३-१ को अग्रतासहित सिरिज आफ्नो बनाएको हो ।

यसअघि सुरुवाती दुई खेल भारतले जितेको थियो भने तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पार्दै सिरिजमा फर्केको थियो ।

तर चौथो खेलमा घरेलु टोली भारतले पुनरागमन गर्दै सहज जित निकाल्यो ।

नेपालले दिएको १६६ रनको लक्ष्य भारतले १० बल अगावै ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतका लागि ओपनर शुष्मा पटेलले सर्वाधिक ४५ रन बनाइन् ।

शान्ति हान्दाले ३७ र राभान्नीले ३० रन जोडिन् । सिमु दासले अविजित ३० रन योगदान गरिन् ।

नेपालका लागि मुना अर्याल र प्रतिभा राईले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित पुलिस जिमखाना क्रिकेट मैदानमा घरेलु टोली भारतले टस जित्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसमा नेपालले निर्धारित २० ओभर खेल्दै बिनिता पुनको अर्धशतकमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

कप्तानी समेत गरेकी बिनिताले सर्वाधिक ६९ रन बनाइन् ।

मनकेसी चौधरीले ३३, सृजना परियारले २४ र सरिता घिमिरेले १२ रन जोडे ।

मुना अर्याल खाता नै नखोली र निशा डगौरा ८ रनमा आउट भए । इशारा माया लुंगेलीले अविजित ६ रन बनाइन् ।

भारतका लागि पुला सरेनले २ तथा झिली बिरुअले १ विकेट लिए ।

अब नेपाल र भारतबीच सिरिजको पाँचौ तथा अन्तिम खेल बिहीबार हुनेछ ।

पाँच खेलको सिरिज खेल्न नेपाली टोली मुम्बई गएको हो ।

प्रतिक्रिया