प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार बाराको निजगढमा पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक–कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीको गोली लागेर सिम्रौनगढ नगरपालिका-१ ननसगराढाट गाउँका २५ वर्षका लक्ष्मी मुख्याको मृत्यु भएको थियो ।
घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने, मधेशका मुख्यमन्त्री र सिम्रौनगढका मेयरले राजीनामा दिनुपर्नेलगायत माग राखी मृतक पक्षले राजमार्ग बन्द गराएका हुन् ।
प्रदर्शनकारीले टायर बाल्नुका साथै नाराबाजी पनि गरेका छन् ।
मृतक मुखियाको शव हाल वीरगञ्जको नारायणी अस्पतालमा छ । मृत्यु भएको ४ दिन भइसक्दा पनि शव परीक्षण भएको छैन । आफन्तले शव बुझेका छैनन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहका अनुसार मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रतिक्रिया