आइतबार, जेठ ६, २०८१

सामुदायिक विद्यालयलाई सघाउँदै युडब्ल्युएस

नेपालखोज २०८० पुष ३ गते १०:२५

फुङ्लिङ (ताप्लेजुङ) । युनाइटेड वल्र्ड स्कुल नेपाल (युडब्ल्युएस)ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयलाई सघाउँदै आएको छ । यो संस्थाले ताप्लेजुङसहित तीन जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणमा सघाउँदै आएको हो ।

विगत दुई वर्षदेखि ताप्लेजुङका तीन स्थानीय तहलाई कार्यक्षेत्र बनाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै आएको उक्त संस्थाले हालसम्म पाँचवटा समुदायिक विद्यालयको भवन निर्माणसम्पन्न गरेको छ ।

अबको तीन वर्षमा ताप्लेजुङमा १५ वटा सुविधासम्पन्न भवन निर्माण गर्ने योजना रहेको संस्थाका अध्यक्ष खेमराज खड्काले बताए । आगामी पाँच वर्षभित्र ताप्लेजुङ, सङ्खुवासभा र गुल्मीमा ९० वटा सामुदायिक विद्यालय भवन निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन, आकर्षक कक्षाकोठा, प्रविधिसहितको प्रशिक्षण, खेलकुदलाई संस्थाले प्राथमिकतामा राखेको छ ।

संस्थाले तीन जिल्लाका ७६ वटा विद्यालयमा पाँच सय नौवटा कक्षाकोठा निर्माण गरिसकेको जनाएको छ । विद्यालय शिक्षा सुधार अभियानअन्तर्गत सङ्खुवासभामा ५३, गुल्मीमा १८ र ताप्लेजुङमा पाँचवटा विद्यालय निर्माण भएका छन् । अभियानबाट तीन जिल्लाका १३ हजार नौ सय २८ बालबालिका लाभान्वित भएको संस्थाले दाबी गरेको छ ।

बेलायत सरकारको सहयोगमा आगामी पाँच वर्षसम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधिभित्रमा साझेदार दातृ निकायसँगको समन्वयमा कार्यक्षेत्र विस्तारसहितका योजना अघि बढाइने अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया