आइतबार, वैशाख २३, २०८१

सूचना प्रविधि सम्मेलन गर्दै कामपा

नेपालखोज २०८० पुष ३ गते १७:४९

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

कामपा सूचना प्रविधि समिति संयोजनसमेत रहेका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच र प्रविधिलाई सम्मेलनमार्फत कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषय मुख्यरुपमा रहनेछन् ।

नीतिमा, शासनमा, सेवामा, समुदायमा डिजिटल समावेशीकरण प्रवद्र्धन गर्दै यसको पहुँच सामाजिक क्षेत्र, निजी व्यवसाय, उद्योग, उद्यमशीलता र वाणिज्य क्षेत्रमा समेत पुग्ने र साझेदारी विकास हुनेछ । सम्मेलनबाट यसका रणनीति तथा कार्यक्रम निर्माण हुनेछन् । यी विषयलाई सम्मेलन आयोजनाको उद्देश्यका रुपमा राखिएको छ ।

सम्मेलनबाट कामपाले सरकार र प्रविधि प्रदायकहरू बीचको साझेदारी नजिक हुनाका साथै एकीकृत र कार्यान्वयनयोग्य दस्तावेज प्राप्त हुने विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया