शुक्रबार, जेठ ४, २०८१

श्रीमानले छाडे पनि आँटिली सिर्जना

पार्वती भण्डारी २०७८ चैत २५ गते १८:५१

काठमाडौं । एउटा लौरोको सहारामा काम गर्छिन् उनी । दुनियाँ स्वार्थी छ । सबैलाई आफ्नै चिन्ता छ । मागेर पनि कति दिन चल्छ र यहाँ ! अरुको सहारामा गरिब, निमुखा तथा बेसहारा कतिदिन बाँच्न सक्छन् र ? फेरि संसार स्वार्थी छ ।

काठमाडौंमा आजभोलि सडकको पेटीलाई साथी बनाएकी छन् उनले । तर पनि कहिलेकाहीँ उनलाई एक्लै भएजस्तो लाग्छ । दुनियाँले उनको पीडा देखेको देख्यै छ । तर भोग्ने उनी मात्रै हुन् । दृष्टिविहीन भएकै कारण अनेकौं आरोहअवरोह पार गर्दै संघर्षमा रुमलिरहेकी उनी हुन् सिर्जना तामाङ । सिर्जना आजभोलि काठमाडौंको सडक पेटीमा बसेर व्यापार गर्छिन् । जन्म भने २०५० सालमा नुवाकोटको त्रिशूलीमा भएको हो । उनको बाल्यकाल त्रिशूलीमै बितेको थियो । तीन वर्षको हुँदा आँखाको ज्योति गुमाइन् । गाउँमा हुर्केकी सिर्जनाले राम्रोसँग उपचार गर्न नपाएर नै आँखाको ज्योति गुमाउन पुगेकी हुन् ।

अस्पतालमा उपचार गराउनुपर्ने ठाउँमा उनका अभिभावकले गाउँमा धामी–झाँक्री गर्न थाले । उनले दुई वर्षको उमेरसम्म त राम्रै आँखा देख्थिन् । विस्तारै दृष्टि क्षमता कम हुँदै गयो । सानै उमेरकी उनलाई अस्पतालमा उपचार गर्नुपर्छ भन्ने ज्ञान नै भएन । सिर्जना भन्छिन्, ‘गाउँमा बस्ने आमाबुबाले अस्पतालमा उपचार गर्नुपर्छ भन्ने ख्यालै भएन, धामीझाँक्रीमा मात्रै ध्यान दिए, आँखाको ज्योति गुमाउनुपर्यो ।’

बच्चादेखि नै आँखा कमजोर हुँदै गएकी सिर्जना जब १४ वर्ष पुगिन्, बाबुआमाले दृष्टिविहीन बस्ने होस्टेलमा राखिदिए । छोरीको पढाइ पनि अगाडि बढोस् र सीप पनि प्राप्त होस् भनेर बुबाआमाले सिर्जनालाई होस्टेल राखिदिएका थिए ।

होस्टेलमा दृष्टिविहीनलाई साबुन, मैनबत्तीलगायत बनाउने र आम्दानी गर्ने तरिका सिकाइन्थ्यो । होस्टेलमा सिर्जनाजस्तै धेरैले विभिन्न उद्यम गर्ने ज्ञान लिने गर्थे । होस्टेलमा काम सिक्दा उनको राजन राईसँग चिनजान भयो । अन्ततः उनैसँग १७ वर्षको उमेरमा विवाह भयो ।

सिर्जनाले सानैदेखि राम्रो शिक्षा पाउन सकिनन् । छोरी मान्छे भनेको अरूको घर जाने जात हो भन्ने सोच अझै पनि हाम्रो समाजमा छ । यसै सोचको आधारमा सिर्जनाका बुबाआमाले पनि विद्यालय पढाउन ध्यानै दिएनन् । नपढेकै कारण कुनै पनि काम दक्षतापूर्वक गर्न नसकेको सिर्जनाको गुनासो छ ।

विवाहपछि सिर्जना र उनका पति राजनको दिनचर्या राम्रै बितेको थियो । सिर्जनाका पति नगरपालिकामा काम गर्थे । शिक्षक पनि थिए । तर जान्नेबुझ्ने भनेका राजनको सोच नै एकाएक बदलियो । बहुविवाह गर्न कानुनले मान्यता दिँदैन भन्ने पनि राजनलाई राम्रैसँग थाहा थियो । तर राजनले न कानुनलाई सम्झिए, न त आफूले फेरि विवाह गरे । न त सिर्जनाको अवस्था बेहाल हुन्छ भन्ने नै सम्झिए । राजनले सिर्जनाको भविष्य बर्बाद गरेर अर्की भित्र्याईकन छाडे ।

श्रीमानले अर्कै भित्र्याएपछि सिर्जना बेसहारा हुन पुगिन् । एक्लै हुँदा उनमा अनेकन सोच आउन थाले । उनले जीवन त्यागीदिने सोच पनि बनाइन् । तर हरेस खाइनन् । सिर्जनाले जीवनसँग संघर्ष गर्ने अठोट लिइरहिन् । प्रायः दृष्टिविहीनहरूले एकदमै कम सहारा पाउने गर्छन् । उनीहरूलाई आफ्नो काम आफै गर्नुपर्ने बाध्यता छ । सिर्जना पनि खाना बनाउने, लुगा धुने, भाँडा माँझ्नेलगायतका काम आफैँ गर्छिन् ।

आफ्ना लागि आफैं खाना बनाउनु र सरसफाइ गर्नु त सिर्जनाका लागि सामान्य नै भइसकेको छ । उनी एकछाक टार्नकै लागि सानोतिनो व्यापार पनि गर्छिन् । कपनदेखि रत्नपार्क पुगेर सडकको पेटीमा बिहान ८ बजेदेखि साँझसम्म बसेर सामान बेच्ने गर्छिन् । उनी रत्नपार्कको पेटीमा बसेर सामान बेच्न थालेको ६ वर्ष पुगेछ । ‘सरकारले ३ महिनामा ६ हजार रुपैयाँ दिन्छ, खान, लाउन र बस्नै पुग्दैन । रत्नपार्कको पेटीमा आजभोलि सामान बेच्ने गर्छु,’ सिर्जना भन्छिन्, ‘रत्नपार्कमा बसेर सामान बेच्नु त्यति सजिलो कहाँ छ र ! बेलाबेला नगरपालिकाले सामान उठाइदिन्छ ।’

सानोतिनो व्यापार गर्ने सिर्जनाले गाडीमा निकै नै ओहोरदोहोर गर्नुपर्छ । सामान ओसारपसार गर्दै यात्रा गर्न एक दृष्टिविहीनलाई धेरै नै समस्या पर्छ । आफू दृष्टिविहीन महिला भएकैले आवतजावत गर्न असहज हुने गरेको उनको अनुभव छ । दृष्टिविहीन भएकैले गाडीमा कहिलेकाहीँ गर्ने व्यवहार उनलाई पटक्कै मन पर्दैन । दृष्टिविहीन भएकै कारणले कतिपयले नाजायज फाइदा उठाउन प्रयास गर्ने तर आफूले प्रतिकार गर्ने गरेको उनको भनाइ छ ।

उनको छोरा सात वर्ष पुगेका छन् । आफ्नो एक्लो ज्यानभन्दा पनि छोरालाई पढाउन धेरै संघर्ष गर्नुपरेको सिर्जनाको भनाइ छ । श्रीमानले छाडेपछि छोरा हुर्काउने र पढाउने अभिभारा सिर्जनाकै काँधमा छ ।

आफूजस्तो दृष्टिविहीनलाई खानका लागि मात्रै सरकारले राम्रो व्यबस्था गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । सिर्जना काठमाडौंमा डेरा लिएर छोरा हुर्काउँदै, पढाउँदै छिन् । एकपटक मर्ने सोच बनाएकी सिर्जनामा हरेस खानु हुँदैन भन्ने भावनाको विकास भएको छ । आफूलाई कमजोर होइन, अब्बल सोचेर काम गर्नुपर्छ भन्ने सिर्जनाको सोच सबैले मनन् गर्न योग्य छ ।

प्रतिक्रिया