‘जनप्रतिनिधिले जनता केन्द्रित भएर काम गर्नुपर्छ’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले जनता केन्द्रित भएर आफ्नो जिम्मेवारी पूरा गर्नु जनप्रतिनिधिको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । भक्तपुर नगरपालिकाको ७५ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले आज आयोजना गरेको प्रवचनमा उनले जनप्रतिनिधि र कर्मचारी आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुँदै जनताको काममा केन्द्रित भएर लाग्नुपर्ने बताए ।
शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँनयाँ विषयमा भक्तपुरलाई ‘टेष्ट ट्युब’ को रुपमा विकास गर्नसके देशलाई नै फाइदा पुग्ने बताउँदै उहाँले भक्तपुरलाई सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक भएको औँल्याए । नेपालमा सङ्घीयताको सफल कार्यान्वयन नभए स्वायत्तताको दुरुपयोग हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष विजुक्छेंले समयमै राजनीतिक दलहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको इतिहासबारे चर्चा गर्दै संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको बताए । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको बताए ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवा, ख्वप माध्यमिक विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ललगायतले नगरपालिकाले देखिने गरी उपलब्धिमूलक कामको चर्चा गरे । रासस
प्रतिक्रिया