मन्त्रालयमा कर्मचारी नदेखेपछि रिसाए ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार र मन्त्रालयका महत्वपूर्ण काम छाडेर अन्य काममा नभुल्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आफू पुग्दा अधिकांश कर्मचारी नआइपुग्ने गरेको प्रवृत्ति भेटिएपछि मन्त्री बस्नेतले बिहीबार मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीलाई डाकेर बैठक गरेका थिए । सो क्रममा उनले भने, ‘कम्तीमा पनि दैनिक चार घण्टा सरकार, मन्त्रालयको काममा व्यस्त हुनुस्, अनावश्यक भेटघाट बन्द गर्नुस्, म पनि नियमित काम छाडेर अन्य भेटघाटमा लाग्दिन, तपाईंहरु पनि सोही अनुसार गर्नुस् ।’
मन्त्री बस्नेतले जनताको कामलाई प्रभावकारी रुपमा सम्पादन गर्न र कुनै गुनासो नआउने वातावरण बनाउन समेत आग्रह गरे । नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने समेत बताए ।
मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमित रुपमा १० बजे नै कार्यालयमा उपस्थित भएर काम सुरु गरेको भन्दै ऊर्जामा पनि सोही नियम लागु हुने जानकारी दिए ।

प्रतिक्रिया