सवारी दुर्घटनामा चार जना जनाको मृत्यु

नेपालखोज २०८० पुष ६ गते १४:२९

काठमाडौं । काठमाडौंको गोकर्णेश्वसर नगरपालिका–५ जोरपाटीमा ना.६ ख ७२८३ नम्बरको ट्रक र बा.५ ख २०० नम्बरको बसको बिचमा प्रदेश ३–०२–०१२ प ७३१७ नम्बरको मोटरसाइकल च्यापिएर बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने भोजपुर टक्सार नगरपालिका–३ घर भएका ६३ वर्षीय निर्मल कुमार श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र बसका दुवै जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाल्पाको रिप्दीकोट गाउँपालिका–२ लघुवास्थित सडकमा रा.१ ख २४०४ नम्बरको टिपर सडकबाट करिब १ सय ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा टिपरमा सवार रिब्दिकोट गाउँपालिका–३ बस्ने ३० वर्षीय विष्णु ढकालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै टिपरमा सवार २ जना घाइतेलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाइएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा से.१ त ६२०४ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–५ भगवती टोल बस्ने दिवाकर भट्टको छोरी ५ वर्षीया सानबी भट्टको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बागमती गाउँपालिका–८ साततले भन्ने स्थानमा बागमती प्रदेश ०३००२ प ३२६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४२ वर्षीय अमर पाख्रिनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया