कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

RSS २०८० पुष ७ गते ७:४०

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए ।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ ।

आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्याउन बाँकै नै छ । आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए ।

पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । ‘अहिले त्यहाँ बिजुली पुर्याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने ।

जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताए ।

प्रतिक्रिया