सोमबार, वैशाख २४, २०८१

केराखेतीको केन्द्र बन्दै टीकापुर, खेती विस्तारका लागि ६० लाख विनियोजन

नेपालखोज २०८० पुष ८ गते ११:०७

भजनी (कैलाली) । कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

टीकापुरमा केराखेतीको सुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन् । त्यसलाई व्यावसायिकरूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिए । उनले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय सुरु गरेको व्यवसायी हमाल बताए । केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन् ।

‘व्यवसायको सुरुआत १० बोट केराबाट भएको हो । त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो । बीचको समयमा अन्य व्यवसाय गरेँ । त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छाडेँ । अन्तिममा केरालाई नै निरन्तरता दिएको हुँ’, हमालले भने, ‘त्यो बेला म केरा व्यवसाय गर्ने एक्लो थिएँ ।

अहिले मभन्दा कैयौँ किसान केराखेतीमा अब्बल भएर लागेका छन् ।’ हमालले केराखेतीलाई पर्यटन व्यवसायसँग जोडिए । केराको मात्रै परिकार पाइने ‘बननाज रिसोट’ टीकापुरमा प्रसिद्ध छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर निर्यात हुन्छ । त्यतिमात्र होइन, टीकापुर आएको व्यक्ति उनको बननाज रिसोर्ट नपुगी फर्कदैनन् ।

‘मैले लगाउने केरा आफ्नै रिसोर्टका लागि मात्र हो । फेरि मैले स्थानीय जातका केरा लगाउँछु’, हमाल भने, ‘अहिले खेतीभन्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्ने काममा मेरो ध्यान छ । उनी राष्ट्रपतिबाट उत्कृष्ट किसानका रूपमा सम्मानित भइसक्नुभएको छ । टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढी जग्गामा केराखेती हुँदै आएको छ । यो वर्ष दुई सय बिघा केराखेती विस्तार भएको व्यवसायी टेकेन्द्र धामी बताए ।

‘किसान केराखेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या नहुनु, एकपटक खेती गर्दा तीनपटकसम्म आम्दानी हुने भएपछि नोक्सान हुँदैनु, धामी बताए, टीकापुरमै सहजरूपमा केराको बेर्ना पाइने तथा सरकारी निकायको सहयोग पनि प्राप्त भएपछि केराखेती फस्टाएको छ ।’

किसान धामीले केराको बेर्ना पनि बेच्दै आएका छन् । उनले सात वर्षदेखि टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर बिक्री गर्दै आएका हुन् । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर बिक्री गरे ।

यो वर्ष पनि उनले करिब दुई लाख बिरुवा बिक्री गरिसकेको बताए । ‘गत वर्ष तीन लाख बिरुवा बिक्री भएको थियो । यस वर्ष पनि त्योभन्दा बढी बिक्री हुन्छ होला, व्यवसायी धामी भने, ‘केराखेती गर्ने सिजन भर्खर सुरु भएकाले खपत कम देखिएको हो, अझै बढ्छ ।’

प्रतिक्रिया