मंगलबार, असार १७, २०८२

संसद्काे एक वर्षको अभ्यासबाट म सन्तुष्ट छैन : सांसद श्रेष्ठ

नेपालखोज २०८० पुष ९ गते १०:५४

काठमाडौं । ‘मेरो संसद् प्रवेशको एक वर्षे कार्यकालमा जनतासँग बाचा गरेका योजना कार्यक्रम यति गरेँ भनेर म सन्तुष्ट छु भन्ने ठाउँ छैन’, सांसद शान्ति श्रेष्ठले भनिन्, ‘आफैँले आफैँलाई समीक्षा गर्नुपर्दा मेरो संसद्को वर्षदिनको अभ्यासमा मैले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सकिनँ, त्यसैले जनतासँग माफी माग्नैपर्छ ।’

सांसद श्रेष्ठलाई जस्तै धेरै सांसदलाई यस्तो पछुतो लागेको छ । किनकी सङ्घीय संसद्को एक वर्षको अवधिमा सांसदले जनतामाझ गरेका वाचा र मुलुकको आवश्यकताका खातिर गर्नुपर्ने काम, बन्नुपर्ने कानुन र हुनुपर्ने विकास निर्माणका काम सांसदकै भनाइमा हुन सकेका छैनन् । उनीहरुकै शब्दमा अतिआवश्यक ऐन, कानुन बन्न विलम्ब भएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा आशातित परिणाम देखिएको छैन ।

यद्यपि, मुलुकको आर्थिक समृद्धि, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र जनताको सेवालाई चुस्त र प्रभावकारी बनाउने महाभियानमा वर्तमान सरकार लागिपरेको छ । हुनतः जादुको छडीझैँ चमत्कार भइहाल्छ भन्ने पनि छैन । सांसद श्रेष्ठले पनि हिम्मत हार्नुभएको छैन । मडारिएको बाँदलभित्र चाँदीको घेराझैँ नेपालभित्र क्षितिजमा सम्भावना पनि प्रशस्तै छन् ।

चुनौतीका चाङलाई सामना गरेर समृद्धिको जनआकाङ्क्षा पूरा गर्नेतर्फ लाग्नु सरकार, राजनीतिक दल, नेता र आमजनताको सामूहिक राष्ट्रिय दायित्व र अपरिहार्यता पनि हो । यिनै जिम्मेवारीबोधका साथ सांसदले आगामी दिनमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठले बताइन् ।

नेकपा (एमाले)की नेत्री श्रेष्ठले भनिन्, ‘मेरो अनुभवमा सांसदको भूमिका कानुन निर्माणमा बढी ध्यान दिनुपर्ने रहेछ । तर, यो मुख्य दायित्वसँगै जनताका आवश्यकताअनुरुप विकास निर्माणमा पनि जोडिनैपर्ने बाध्यता छ ।’

समानुपातिक सांसदको रुपमा सङ्घीय संसद् प्रवेश गरेकी सांसद श्रेष्ठ काठमाडौं गोकर्णेश्वर वडा ६ की स्थायी बासिन्दा हुन् । उनी वि.सं २०५४ देखि राजनीतिमा सक्रिय छिन् । वि.सं २०४२ मा अखिल नेपाल महिला सङ्घ सदस्य, विसं २०५४ को स्थानीय निर्वाचनमा गोकर्णेश्वर नपा वडा ३ को सदस्यमा निर्वाचित भइन् ।

वि.सं २०५७ मा अनेमको जिल्ला समिति सदस्य हुँदै अनेम सङ्घको छैटौँ काठमाडौँ जिल्ला सम्मेलनबाट अध्यक्ष बनिन् । वि.सं २०६१ मा पार्टी जिल्ला कमिटी सदस्य, २०६३ मा पार्टीको महाधिवेशन प्रतिनिधि, २०७० मा राष्ट्रिय प्रतिनिधि परिषद् र २०७७ देखि प्रदेश बालअधिकार समिति सदस्यको जिम्मेवारी सम्हालिन् । त्यस्तै, विभिन्न समयमा भएका महिला अधिकारसम्बन्धी आन्दोलन, विसं २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेकी नेत्री श्रेष्ठ पटक–पटक गिरफ्तार र थुनामा परिन् ।

सङ्घीय संसद्मा प्रतिनिधि भएको एक वर्ष पूरा हुँदै गर्दा संसदीय अभ्यासमा धेरै सांसद अलि कति आफ्नो कार्य क्षेत्रमा व्यस्त हुने, विकासका काममा बढी खट्ने गरेको सञ्चारमाध्यममा आउने गरेको छ । नेत्री श्रेष्ठ भनिन्, ‘कानुन बनाउन केन्द्रित हुनुपर्ने सांसद विकास निर्माणमा सक्रिय भए भन्ने जुन कुरा मिडियामा आएको छ, यो मलाई स्वभाविक लाग्छ । किनभने विकासको लागि पनि सांसदले घोषणापत्रअनुरुप बोलिरहेकाे हुन्छन् । म तिम्रो यो काम गर्दिन्छु, त्यो काम गर्दिन्छु । सडक, खानेपानीलगायतका विषय सम्बोधन गर्छु भनेर मत मागिएको हुन्छ ।’

उनले कानुन निर्माण र जनताको आकाङ्क्षाअनुरुप काम गर्नु सांसदको प्रमुख दायित्व भएको उल्लेख गरिन् । ‘विभिन्न समुदाय र वर्गले उठाएका जायज मागलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने हाम्रो मूल दायित्व हो । तर अहिले संसद्मा दर्ता भएका ४२ वटा विधेयकमध्ये एक मात्र विधेयक पारित भएको छ, र एउटा मात्र विधेयकले कानुनको रुप लिएको छ ।’

प्रतिक्रिया