बिहीबार, असार ५, २०८२

यःमरि पुन्हिको शुभकामना

सुनिल उलक २०८० पुष १० गते १२:५५

नेवाःहरु वर्ष भरि बिभिन्न नखःचखः मनाउने गर्दछन् । नेवाःहरु वर्ष भरि नै बिभिन्न नखः चखः मनाउने गर्दछन् । नेवाःहरुमा परिवारका सदस्य तथा नजिकका आफन्त सहित जम्मा भएर भोजभतेर गरेर मनाउने पर्वलाई नखः भन्ने गरिन्छ भने परिवारका सदस्यहरु मात्र बसेर मनाउने पर्वलाई चखः भन्ने गरिन्छ ।

मोहनी (दशैं) तथा स्वन्ति (तिहार) बिशेष नखःमा पर्दछ । उपत्यकाको स्वनिग (तिनै शहर)मा मनाइने एकै किसिमको पर्वका रुपमा मोहनी र स्वन्ति पर्दछ । तर उपत्यकाको काठमाडौ (येँ) मा येँ या पुन्हि (इन्द्रजात्रा), पाटन (यले) मा करुणामय (रातो मच्छिन्द्रनाथ) तथा भक्तपुर (ख्वप) मा बिस्का (बिस्केटजात्रा) छुट्टाछुट्टै रुपमा मनाउने अलग अलग बिशेष बिशेष नखः हुन ।

तिहार अर्थात स्वन्ति नखः समाप्तिको करिव ४३ दिन पछि यःमरि पुन्ही आउँदछ । मंसिर शुक्ल पूर्णिमालाई धान्या पूर्णिमा पनि भन्ने गरिन्छ । यसै दिनमा किराँत समुदाय भने उधौली मनाउने गर्दछन । यो दिन हिउँद ऋतुको शुरुवातको रुपमा पनि लिने गरिन्छ । कृषी प्रधान देश भएको हुँदा नयाँ धान भित्राउने मौसममा रमाइलो गर्दै नाचगानमा रमाउँदै उघौली पर्व मनाउँछन् । यो समयमा चराचुरुङ्गी एवं मानिसहरु पनि हिमाली भेगबाट तराइ वा उपत्यका तर्फ बसाइ सर्दछन् । यसरी उँघो सर्ने मौसमको शुरुवात भएको हुँदा यसलाई उँघौली पर्व भनिएको हो भन्ने पनि गरिन्छ । त्यस्तै बैशाख शुक्ल पूर्णिमाका दिन खेतीपातीको शुरुवात गर्ने समयको शुरुवात हुने हुँदा सबै आ-आफ्नो गाउँघर तर्फ फर्कन्छन । जसलाई उँभौली पर्वको रुपमा मनाउने गरिन्छ ।

उपत्यकामा रहेका ज्यापू समुदाय पनि कृषीसंग आबद्ध समुदाय भएको हुँदा यो समुदायको लागि यो पूर्णिमा बिशेष रुपले मनाउने गर्दछन् । अचेल भने धान्यपूर्णिमाका रुपमा मनाउने गरिन्छ । यहिँ दिन नयाँ भित्राएको धान कुटेर बनाइएको चामलको पिठोबाट एक प्रकारको मिठो रोटी बनाएर खाइन्छ । जाडो मौसममा तातो बनाउन भित्र चाकु राखेर बनाइने यो रोटीलाई सबैले मन पराउने हुँदा नाम नै यःमरि राखिएको हो ।

यःमरीको विषयमा हामीसंग हिन्दू किंवदन्तीका साथसाथ बौद्ध कथा पनि प्रचलित छ ।

पाञ्चाल राज्य अर्थात हालको पनौतीमा सुचन्द्र नामका महाजन बस्दथे । उनि निकै दानी भएको सुनेर कुवेर गरिवको भेषमा एकदिन उनको घरमा माग्न पुग्दछ । सुचन्दको पत्नीले गरिव ब्राम्हणको सत्कार गरि मिष्ठान्न भोजन गराउँदा प्रसन्न भएर कुवेरले आफ्नो वास्तविकता सुचन्दको पत्नीलाई सुनाए । सुचन्द केवल धनि मात्रै होइन दानी र धर्मात्मा पनि रहेको भन्दै कुवेरले सुचन्दको पत्नीको हातमा बिमिरो फल दिदै आजैको दिनबाट धानको भकारीमा यस फललाई राखेर पूजा गर्न भने साथै पूजाको सम्पूर्ण विधी पनि सिकाए ।

यसरी बिमिरो प्राप्त भए पछि सुचन्द्रको पत्नीले कुवेरले सिकाए झै नयाँ भित्राएको धान कुटेर तैयार भएको चामलको पिठोबाट लक्ष्मी, कुवेर, गणेश तथा कुमारको मुर्ती तथा बिमिरोकै आकृतीमा बनाइएको य:मरी राखेर भकारीमा राखिएको नयाँ धानलाई विधिपुर्वक पूजा गरे । यसरी पूजा गरेको भकारी कहिल्यै रित्तिएन साथै धनधान्यले परिपूर्ण हुदै गए । यसरी यःमरि पुन्हिका दिन नयाँ धानको भकारी यःमरि बनाएर पूजा गर्ने चलन चलेको भन्ने मान्यता छ । अचेल पनि धानको भकारी हुनेले धानको भकारीमा नहुनेले पूजाकोठामा भए पनि विधिपूर्वक पूजा गर्ने परम्परा कायमै छ ।

ज्यापु समुदायले आजैको दिनलाइ ज्पापु दिवशको रूपमा मनाउदै परम्परालाई कायम राख्ने गरेको छ भने अन्य शहरी क्षेत्र तथा कतिपय नयाँ पिँढीले य:मरी पुन्ही मनाउन छोडिसकेका छन् ।

हिन्दू किंवदन्तीमा कुवेरले सुचन्द्रको पत्नीलाई बिमिरो फल दिइएको तथा सो जस्तै आकृतिको रोटी यःमरि बनाइएको भन्ने गरिन्छ । बिमिरोको नेवाः समुदायमा खासै कुनै नाम दिइएको छैन । तर बोलिचालिमा “तँ सि” भनिन्छ । “तँ सि” को अर्थ ठूलो फल हो । यो फलको नाम नै त होइन तर ठूलो भएको हुँदा ठूलो फल भनिएको मात्र हो । तर बौद्ध धर्ममा यसलाई जम्भरा भनिन्छ । जम्भरा धन तथा अन्नको देवताको प्रतिक हो । जम्भरा नाममा पूजा गर्ने गरिन्छ ।

प्राय बौद्धमार्गीहरु जम्भराको मुर्तिलाई पानी भित्र राखेर वा पानीको धारा दिएर पूजा गर्ने गर्दछन् । यहिँ धनको देवता जम्भराको प्रतिकका रुपमा रहेको “तँ सि”लाई प्रमुख पूजाहरुमा धनधान्य होस भनेर राख्ने गरिन्छ । लक्ष्मीपूजा, म्हपूजा, किजापूजा तथा जन्मदिनमा पनि “तँ सि” अगाडि राखेर पूजा गर्ने गरिन्छ । तर अचेल भने खासै “तँ सि” राखिदैन । म्हपूजाको दिन “तँ सि” जसरी पनि राखिन्छ । किजापूजाका दिन पनि अघिल्लो दिन जस्तै गरेर “तँ सि”लाई राखिन्छ ।

यःमरि पुन्हिका दिन बनाइने यःमरि यहिँ “तँ सि”को प्रतिक हो । साथै “तँ सि” धनको देवता जम्भराको प्रतिक हो । कृषी प्रधान देश नेपालमा मंसिरमा नयाँ धान भित्राए पछि धानलाई भकारीमा राखिन्छ । यहि नयाँ धान ओखलमा कुटेर चामल तैयार गरि सो चामल पिसेर बनेको पिठोले धनको देवता जम्भराको प्रतिकका रुपमा “तँ सि” जस्तै आकारको यःमरि बनाइन्छ ।

यहि यःमरि धानको भकारीमा राख्दा धानको कहिल्यै कमी नहुने विश्वास गरिन्छ । साथै यहि यःमरि धन राख्ने ठाउँमा पनि राखेर पूजा गर्दा धनको कमी नहुने विश्वास गरिन्छ । देवताका रुपमा बनाइने यःमरिका भित्र पाँचवटा अक्षता राखिन्छ । तर स्वादका लागि बनाइने यःमरिमा भने आफूलाई मन पर्ने स्वादका रुपमा चाकु, मास, कुराउनी, मासु, उसिनेको आलु तथा अन्य चिज पनि राखेर बनाउने गरिन्छ ।

ज्यापू समुदायमा आजको दिन घर घरमा गीत गाउदै “त्य: छिं त्य: फ्वनेगु ज्याझ्य:” मनाइन्छ । यसरी यःमरि माग्न जाँदा यस प्रकारको बोलको गीत गाउने गरिन्छ । तिहारमा गाउँघरमा देउसी र भैलो खेलिए झै उपत्यकामा नेवाः समुदाय घर घरमा यःमरि माग्न जाने गरिन्छ । यसरी माग्न घर घर जाँदा यःमरिका साथ साथ नाङ्लोमा पैसा पनि राखेर दिने गरिन्छ ।

त्य:छिं त्य: वकछीं त्य: लातापाता कुलिचाँ जुस त्यः ।
य:मरी च्वामु उकिई दुने हामु, ब्युसा माकु मब्युसा फाकु ।।
ब्युम्ह ल्यासे मब्युम्ह बुरि कुति ।

यसरी राती घर घर यःमरि माग्न जाँदा यःमरि दिनेको प्रशंसा गर्दै तरुनी भनिन्छ भने नदिनेलाई बुढी भन्दै भाग्ने गर्दछन् । यसका साथै युवाहरु यःमरि माग्न जाने बहानामा अविवाहित राम्री युवतीलाई जिस्काउन पुग्दथे । यसर्थ यःमरि पुन्हीको भोलिपल्ट नेवाः युवा युवतीहरु मतिना पारुका रुपमा प्रेम दिवस मनाउँने गर्दथे ।

अचेल युवायुवती नजिकिन धेरै किसिमले सहज भइसकेको हुँदा प्रेमको अंकुरण हुनु कुनै नौलो हुदैन । तर उहिले समाजमा युवायुवतीहरु नजिकिने अवसर खासै पाउँदैनथे । जसले गर्दा कहिले काँहि पाउने यी अवसरलाई बञ्चित गर्न चाहदैनथे । पानी भर्न वा कपडा धुन धारामा पुगेका युवती, मन्दिरमा पूजा गर्न पुगेका युवती, वा चाडपर्वमा परिवारका साथ हिडेका युवती माथि नजिकिने बिभिन्न बहाना युवाहरु खोज्दथे ।

यस्तै य:मरी च्वामु उकिई दुने हामु, ब्युसा माकु मब्युसा फाकु ।। भन्दै यःमरि घर घर माग्न जाने बहानमा युवाहरु आफूलाई मन परेको युवतीको घरमा पनि पुग्दथे । त्यहि हेरा हेरमा भेट्ने इशारा गर्दथे । भोलिपल्ट कतै मन्दिर, धारा वा कुनै उपयुक्त ठाउँमा भेट्दथे । यसैले यःमरि पुन्हिको भोलिपल्टलाई “मतिना पारु” अर्थात प्रेम दिवसका रुपमा मनाउँदथे । आजको भाषामा भन्नुपर्दा भेलेन्टाइन डे हुने गर्दथ्यो । यसरी अंकुरण भएको प्रेम करिव ३ महिना पछि फागुमा अझ गहिरिन्थ्यो । त्यो दिन फागु खेल्ने बहानामा अझ नजिक हुन्थे । यसरी गहिरिदै परिपक्व भएको प्रेम दशैको नवदुर्गामा मन्दिर दर्शनको बहानामा बिहानै निस्किएका युवायुवती कतिपय विवाह बन्धनमा बाँधिन्थे । टीकाको दिन परिवारको सहमति लिन घर पुग्दथे ।

प्रतिक्रिया