शुक्रबार, पुष ४, २०८२

निकेल प्लान्टमा भएको विस्फोटपछि इन्डोनेसियाका मजदुरद्वारा प्रदर्शन

नेपालखोज २०८० पुष ११ गते १४:५५

जाकर्ता । सयौँ इन्डोनेसियाली मजदुरले बुधबार चिनियाँ लगानीको निकेल प्रशोधन प्लान्टको अवस्थाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त प्लान्टमा सप्ताहान्तमा भएको विस्फोटमा परी कम्तीमा १८ को मृत्यु र दर्जनौँ घाइते भएका थिए ।

सुलावेसी टापुको मोरोवाली औद्योगिक पार्कमा रहेको पिटी इन्डोनेसिया सिङसान स्टेनलेस स्टिल (आइटिएसएस) को स्वामित्वमा रहेको प्लान्टमा मजदुरले भट्टी मर्मत गर्ने क्रममा शनिबार बिहान दुर्घटना भएको थियो ।

सुलावेसी खनिजले सम्पन्न मुलुकको निकेल उत्पादनको केन्द्र हो । निकेल विद्युतीय सवारीको बेट्री र स्टेनलेस स्टिलमा प्रयोग गरिने धातु हो । यस क्षेत्रमा चीनको बढ्दो लगानीले तलब र कामको अवस्थालाई लिएर अशान्ति निम्त्याएको छ ।

एएफपीले प्राप्त गरेको तस्बिरहरूमा सयौँ मजदुर परिसरबाहिर विरोध प्रदर्शनमा भाग लिइरहेको देखिएको छ । मजदुरको प्रतिनिधित्व गर्ने युनियनले प्रहरीलाई पठाएको पत्रअनुसार प्रदर्शनकारीले व्यवस्थापनसमक्ष २३ वटा मागको सूची दिएका छन् ।

प्रतिक्रिया