बिहीबार, वैशाख २०, २०८१

नारायणीमा गोही खोज्दा भेटियो डल्फिन

RSS २०८० पुष ११ गते १५:१८

चितवन । गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो ।

गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो । गोलाघाटबाट र्या।फ्टिङमा दुई घण्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ छ ।

योसँगै निकै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन् । नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो । अधिकृत श्रेष्ठका अनुसार राप्ती नदीमा तीन र नारायणी नदीको गोलाघाट र बागवान पोष्टमा दुईवटा भाले गोही देखिएका छन् ।

प्रतिक्रिया