आइतबार, वैशाख २३, २०८१

युट्युबमा २ करोड सब्सक्राइबर हुने विश्वकै पहिलो नेता नरेन्द्र मोदी

नेपालखोज २०८० पुष १२ गते १८:५६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोसल मिडियामा सर्वाधिक पछ्याइने वैश्विक नेतामध्ये एक हुन् ।

सोसल मिडियामा आफ्नो लोकप्रियतालाई नयाँ उचाइमा पुर्‍याउने क्रममा मोदीले युट्युबमा नयाँ कीर्तिमान राखेका छन् । उनी युट्युबमा दुई करोड सब्सक्राइबर हुने विश्वकै पहिलो नेता बनेका छन् ।

युट्युबमा सब्सक्राइबर्स तथा भ्युजको मामिलामा मोदीले विश्वका आफ्ना सबै प्रतिद्वन्द्वी नेताहरुलाई निकै पछि पारेका छन् ।

मोदीको युट्युब च्यानलमा सब्सक्राइबर संख्या २ करोड नाघेको छ भने त्यसमा राखिएका भिडियोहरुमा कुल भ्यूज चार अर्ब ५० करोड रहेको छ ।

स्मरण रहोस् गत वर्षको फेब्रुअरीमा मात्रै मोदीको युट्युब च्यानलका सब्सक्राइबरको संख्याले एक करोडको आँकडा पार गरेको थियो ।

मोदीको युट्युब च्यानलमा सबैभन्दा लोकप्रिय तीनवटा भिडियो छन् जसको कुल भ्युज १७ करोड ५० लाख छ ।

नरेन्द्र मोदीपछि युट्युबमा सर्वाधिक सब्सक्राइबर हुने नेताको दोस्रो नम्बरमा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोलसोनारो छन् । उनको युट्युब च्यानका सब्सक्राइबर्स ६४ लाख छन् ।

तेस्रो स्थानमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको युट्युब च्यानलमा ११ लाख सब्सक्राइबर्स छन् भने चौथो स्थानमा अमेरिकी राष्ट्रपति जो बाइडेन छन्, जसको युट्युब च्यानलका सब्सक्राइबर्सको संख्या ७ लाख ९४ हजार छन् ।

यसैबीच चालु डिसेम्बर महिनामा नरेन्द्र मोदीको युट्युब च्यानलको कुल भ्यूज २२ करोड ४० लाख रहेको छ । यो पनि सर्वाधिक भ्युजको रेकर्ड हो ।

प्रतिक्रिया