छत्तीस घण्टापछि शिशुको सकुशल उद्धार
नेपालखोज
२०८० पुष १३ गते ६:४१
काठमाडौं । काठमाडौंको गौशालाबाट अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी शिशु आशिका सुनुवारलाई ३६ घण्टापछि प्रहरीले सकुशल अपहरणमुक्त गरेको छ ।
नेपाल प्रहरीको एक टोलीले आज भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।
काठमाडौं महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका शिशुका अभिभावकसँगै रहेकी उनलाई गत मङ्गलबार चिया खान आएका व्यक्तिले लगेको भन्दै प्रहरीमा उजुरी गरेपछि खोजी सुरु भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको संयुक्त टोलीले आज भक्तपुरबाट बालिकाको उद्धार गरेर अभिभावकलाई बुझाएको हो । बालिका अपहरणको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया