आइतबार, जेठ ६, २०८१

तमुहरुको नयाँ वर्ष ( ल्होसार )

नेपालखोज २०८० पुष १५ गते १२:२६

आज ल्होसार तमुहरुको नयाँ वर्षको शुभारम्भको दिन । यसैले सबैभन्दा पहिले सम्पूर्ण तमु मित्रहरुमा तमु ल्होसारको शुभकामना । यस वर्ष हि ल्हो ( बिरालो) वर्ग लाई बिदाइ गर्दै मुप्र्ही ल्हो (गिद्ध) वर्गलाई स्वागत गरिदैछ ।

तमु पोशाक

गुरुङ भाषामा एउटा भनाइ छ, “पे म्ह्स्या छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु” अर्थात शास्त्र हराए, संस्कृती हराउँछ, संस्कृती हराए, परम्परा हराउँछ, परम्परा हराए, मान्छे नै हराउँछ । तसर्थ हरेक जातिले यो कथनलाई स्विकार्नु पर्छ । केवल तमूहरुको लागि मात्र यो सत्य होइन अन्य जातिको लागि पनि यो सत्य भनाइ हो । यसर्थ तमुहरुको पहिरनको विषयमा बिभिन्न श्रोतहरुबाट प्राप्त तथ्यलाई यहाँ राखेको छु । कतै गल्ती भएमा उल्लेख गरिदिनुहोला ।

तमु पुरुषहरुको पहिरन

तमु पुरुषहरुको पहिरनमा शुरुमा कछाड जसलाई गुरुङ भाषामा “कास” भनिन्छ, कमरमा बेरेर दक्षि (किनारा)ले घुँडासम्म छोपिने गरि बाँधिन्छ । त्यसपछि म्हेन्दु (पटुकी)ले कसिन्छ । अचेल लाहुरे प्रभावले गर्दा सिंगापुरे पेटीले कस्ने गरिन्छ । यहि म्हेन्दुमा पछाडि तर्फ हो भने काेरे (आसी वा खुर्पेटो) अगाडि तर्फ भने क्होच (खुकुरी) भिर्ने चलन छ । तर दुबै (खुकुरी र खुर्पेटो) एकसाथ भिर्ने भने गरिदैन ।

शरिरको माथिल्लो भागमा भने आधा बाहुला भएको पाँलु (भोटो) लगाउने गरिन्छ । पाँलुको माथिबाट आस्कोट लगाइन्छ । आस्कोटको माथि र्हेङ्गा (भाङ्ग्रा) लगाउने गरिन्छ । भाङ्ग्रा कपडालाई दुइ गाँठो बाँधेर बनाइन्छ । यसरी बनाइएको दुइ गाँठोमा दाहिने गाँठो माथि पार्नुपर्दछ । बाँया गाँठोलाई तल पार्नुपर्दछ । यस पछि टाउकोमा क्रेगी (फेटा) वा पुले / मल्खु (टोपी) लगाउने गरिन्छ । साथै जाडोमा ओढ्न र ओछ्याउन मिल्ने प्हङ्ली (धुमराडी) पनि हातमा बोक्ने गरिन्छ ।

कानमा लगाउने डलम्हार (कुण्डली)को प्रचलन हराइसकेको छ । उहिले खुट्टामा केही लगाउने गरिदैनथ्यो । तर अचेल आधुनिकतासंगै मोजा र कप्स्या (जुत्ता) लगाउने गरिन्छ । यसरी पुरुषको पहिरन पुरा हुने गर्दछ ।

महिलाको पहिरन

पुरुषको तुलनामा महिलाको पहिरन बढि आकर्षक हुने गर्दछ । साथै महिलाको पहिरनमा धेरै किसिमका सामग्री हुने गर्दछ । महिलाहरु कमर भन्दा तल ङ्योए (गुन्युँ)लाई अगाडि मुजा पारेर बाँधिन्छ । गुन्युँ माथिबाट तमला (टिकिस) बाँधिन्छ । टिकिस बाँध्दा त्रिभुज आकारमा पछाडी तल तिर चुच्चो बनाएर अगाडि कमर मुनि पर्ने गरि तर्फ बाँधिन्छ ।

शरिरको माथिल्लो भागमा पाँलु (आधा बाहुले चोली) लगाइन्छ । यसरी चोलो लगाइ सकेपछि चोलो र टिकिसलाई समेत बाँधिने गरि म्हिन्दु फगी (पटुका)ले कसिन्छ । शिरलाई क्रमु (मजेत्रो)ले छोप्ने गरिन्छ । साथै पाँलुलाई प्रोओ (घलेक) तथा खुट्टामा कप्स्या (जुत्ता) लगाउने गरिन्छ ।

गहनाको विषयमा भने शिर, गला, हात, नाक तथा कानमा गहना लगाउने गरिन्छ । शिरमा सबैभन्दा माथि माराट (शिरफूल), निधारमा झेका (शिरबन्दी) , कानमा ढुँरी (ढुङ्ग्री), नाकमा फुली वा बुलाकी, योका (चुरा), औलामा माराच्या (सुनको औठी) लगाउने गरिन्छ । घाँटीमा भने माला धेरै किसिमको लगाउने गरिन्छ । मारारुङ (सुनको जन्तर), पिरुकूर (मुगाको माला), काँज्यू मारा (पोतेको माला), आसे (तिलहरी), असर्फी, नौगेडी आदीको माला पनि लगाउने गरिन्छ ।

यि पहिरनमा कतिपय पहिरन अब नामको मात्र रहेको छ । बिदेशबाट आयात गरिएको कपडाबाट बनाइएको हुन्छ । पहिले पहिले महिलाहरुले आफ्नै हातले निकै सिपसंग बनाइएका पुरुषका पोशाकहरु सोल्टीले उपहार पाउँदा भावनात्मक रुपले निकै निकट हुने गर्दथ्यो । ति पोशाक लगाउँदा सोल्टीनीको सम्पूर्ण माया पाएको अनूभुति हुने गर्दथ्यो ।

सोल्टीनीहरु पनि आफ्नो मन परेको सोल्टीको लागि बिशेष बुट्टाहरु राखेर मेहनतका साथ भाङ्ग्रा बनाएर उपहारमा दिने गर्दथे । भाङ्ग्रामा लामो धागो प्रयोग गरेर धागो जतिकै लामो आयु रहोस भन्ने कामना गरिन्थ्यो । निरोगी रहोस भनेर भाङ्ग्रा ओढाइदिइन्थ्यो । तर अचेल कसले बनाउने भाङ्ग्रा । तैयारी भाङ्ग्रा किनेर ल्यायो लगायो ।

त्यस्तै सोल्टीनीहरुलाई पनि मजेत्रो उपहार दिइन्थ्यो । जसमा भावनात्मक सम्बन्ध गाँसिएको हुन्थ्यो । त्यसैले मजेत्रोलाई सधै शिरमा राखेर माया तथा प्रेम पनि शिरमा नै रहेको जनाइन्थ्यो । तर अचेल तमु महिलाहरुको पोशाक भने अन्य जातीले पनि माया र सद्भावका साथ लगाउने गरेको देखिन्छ । यसर्थ आफ्नो संस्कार र संस्कृती जोगाउन तमुका नयाँ युवायुवतीहरु पनि उतिकै अगाडि रहने आशा राख्न सकिन्छ ।

प्रतिक्रिया