खेलाडी अभावले संकटमा सुदूरपश्चिम

काठमाडौं । साविक विजेता सुदूरपश्चिम प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा दोस्रो एलिमिनेटरबाट बाहिरिएको छ । गत वर्षको शाखः कायम राख्न नसकेको सुदूरपश्चिम सोमबार दोस्रो एलिमिनेटरमा कोशी प्रदेशसँग ९ विकेटले पराजित भयो ।
अनुभवी खेलाडी विभागीय टिममा भर्ना हुन जाने र प्रदेश क्रिकेट संघले महिला खेलाडीलाई प्रोत्साहन गर्न नसकेका कारण यसपटक सुदूरपश्चिममा खेलाडी अभाव देखियो ।
सुदूरपश्चिमलाई महिला क्रिकेट खेलाडीको हब नै मानिन्छ । राष्ट्रिय टिममा पनि सुदूरपश्चिमकै खेलाडीको प्रभुत्व छ । तर त्यही क्षेत्रको महिला क्रिकेट टिमले भने राष्ट्रियस्तरको प्रतियोगिताको फाइनल पनि पुग्न सकेन ।
कप्तान ऋतु कनोजियाका अनुसार सुदूरपश्चिमका दुई खेलाडी हालै नेपाली सेनामा भर्ती भएका छन् । त्यस्तै अलराउन्डर कविता कुँवर एपेन्डिक्सको अप्रेसनका कारण टिम बाहिर छिन् । त्यस्तै ब्याटर डली भट्ट पनि यस पटक टिममा छैनन् । सुदूरपश्चिमलाई यी दुई खेलाडीको अभाव प्रत्यक्ष खट्केको छ ।

प्रतिक्रिया