‘बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्छ’

नेपालखोज २०८० पुष १६ गते २०:०४

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले बेसहारा नागरिकलाई राज्यस्तरबाट संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ ।

सडक आश्रित मानवरहित नेपालको लक्ष्यसहित सुनसरीको इटहरीबाट सञ्चालित ‘माया घर, नेपाल’ को राष्ट्रिय अभियानको थालनी गर्न आज काठमाडौंमा आयोजित मानवता प्रवर्द्धन विषयक कार्यशालामा उपसभामुख रानाले सामाजिक क्षेत्रबाट बेसहारा नागरिकका लागि हुँदै आएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले स्थानीय तहको सहकार्यमा सडकआश्रित मानवको सहारामा कार्य गर्ने संस्थाका लागि भवन बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले मानवता नै धर्म भएकाले विभिन्न बाध्यताले सडकमा जीवन बिताउन विवशहरूका लागि सहयोग गर्नु सरकार र हरेक नागरिकको कर्तव्य भएको बताउनुभयो ।

‘माया घर नेपाल’ अध्यक्ष सुभद्रा प्याकुरेलले बेसहारा नागरिकलाई संरक्षणका साथै सीप सिकाएर उनीहरुको पुनः जीवन र परिवारमा पुनः मिलनका लागि आफूहरूले विगत सात वर्षदेखि कार्य गर्दै आएको जनाउनुभयो । सो संस्थामा हालसम्म ६२ जिल्लाका आठ हजार बढीले सेवा लिइसकेका छन् भने हाल एक सय ४२ जना आश्रित छन् ।

प्रतिक्रिया