शनिबार, वैशाख २२, २०८१

माथिल्लो तामाकोसीको हकप्रद सेयर बिक्री हुँदै

नेपालखोज २०७९ असार ३१ गते १६:५९

काठमाडौं । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो ।

स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ । विसं २०७८ असार २१ गते उद्घाटन भई गत साउनको दोस्रो सातादेखि नियमितरुपमा सञ्चालन रहेको उक्त आयोजनाले वर्षाकालमा मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउनसमेत सहयोग गरेको छ ।

सोही आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई एक बराबर एक कित्ताका दरले हकप्रद सेयर प्रदान गर्ने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले यही असार ३० गते बसेको सञ्चालक समितिको २५७औँ बैठकबाट हालको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागिएको जानकारी दिए ।

त्यससम्बन्धी जानकारी कम्पनीको आगामी १४औँ वार्षिक साधारणसभामा स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय भएको उहाँको भनाइ थियो । कम्पनीले त्यससम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज एवं सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेडलाई गराएको छ । कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ५९ करोड १ सय रुपैयाँ बराबर छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको कूल चुक्ता पुँजी २१ अर्ब १८ करोड २ सय रुपैयाँ बराबर पुग्नेछ ।

प्राकृतिक प्रकोप, विभिन्न अवरोधलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्न गयो । आयोजनाको सुरुआती लागत ३५ अर्ब २९ करोड रुपैयाँ हुने भनिएको थियो । त्यसमा ब्याज, अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत विषय समावेश गरिएको थिएन ।आयोजना निर्माण सम्पन्न हुँदा ८८ अर्ब रुपैयाँ बराबरको खर्च भएको छ । कम्पनीको कूल लागत ५२ अर्ब रुपैयाँ बराबर पुगेको छ । त्यसमा ब्याज र अन्य थप खर्च थप जोड्दा ८८ अर्ब रुपैया बराबर पुगेको हो ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई/दुई प्रतिशत शेयर रहेको छ । यस्तै सर्वसाधारणको १५ प्रतिशत दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ ।

प्रतिक्रिया