शनिबार, जेठ ४, २०८२

न्यायाधीश नियुक्तिमा ‘क्याडर जज’ लाई प्राथमिकता

नेपालखोज २०८० पुष १८ गते १९:०१

काठमाडौं । पछिल्लो चार महिनामा उच्च अदालतमा ६८ न्यायाधीश नियुक्त भए । सर्वोच्च अदालतमा नियुक्त भएका न्यायाधीशको समेत संख्या जोड्दा ७४ पुगेको छ । यी ७४ जनामध्ये ५७ जना न्यायाधीश र न्याय प्रशासनकै कर्मचारी मध्येबाटै नियुक्त भएका छन् भने १७ जना कानुन व्यवसायी छन् ।

कानुन व्यवसायीहरु धमाधम माथिल्लो अदालतमा न्यायाधीश नियुक्त हुँदा जिल्ला र उच्च अदालतमा न्याय सम्पादनमा लामो समय बिताएका न्यायाधीशहरुको वृत्ति विकासमा असर परेको भन्दै ‘करियर जज’ हरु ले गुनासो गरिरहेका थिए । यसपटक उनीहरुको माग न्यायपरिषदले सम्बोधन गरेको छ ।

२०७३ पुसमा उच्च अदालतमा न्यायाधीशको संख्या १६० जना पुर्‍याउन प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष हुँदा न्यायपरिषदले ८० जना न्यायाधीश नियुक्त गरेको थियो । जिल्ला न्यायाधीशबाट ३४, न्याय प्रशासनबाट ११, पूर्वअतिरिक्त न्यायाधीशबाट १० जना र कानुन व्यवसायीबाट २५ जना नियुक्त भएका थिए । त्यसपछि ठूलो संख्यामा न्यायाधीश नियुक्ति यसैपटक भएको हो ।

२९ भदौ २०८० मा न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्त गर्दा १८ जना जिल्ला न्यायाधीश छनोटमा परेका थिए । त्यस्तै न्याय सेवाबाट सरकारी वकिल, सहरजिष्ट्रार र कानूनका सहसचिव १/१ गरी ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायी न्यायाधीश नियुक्त भएका थिए ।

प्रतिक्रिया