सोमबार, जेठ ७, २०८१

संसदीय समितिमा शिक्षकहरुको हारगुहार : हाम्रो जागिर जोगाइदिनुहोस्

नेपालखोज २०८० पुष १९ गते १८:१५

काठमाडौं । शिक्षक तथा विद्यालय कर्मचारीहरुले आफूहरुको जागिर जोगाइदिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आग्रह गरेका छन् ।

विद्यालय शिक्षा विधेयकबारे छलफल गरिरहेको समितिको बिहीबार बसेको बैठकमा माध्यामिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टीकाप्रसाद न्यौपानेले तत्कालिन समयमा लाइसेन्स बिना नियुक्त गरेका शिक्षकहरुसँग अहिले लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि जनाए ।

स्थानीय तहहरुले जबर्जस्ती लाइसेन्स ल्याऊ, नल्याए बर्खास्ती गर्ने धम्की दिन थालेको भन्दै शिक्षकहरुको जागिर जोगाइदिन नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरे ।

साविक उच्च माध्यामिक तहमा कार्यरत शिक्षकहरु शिक्षा ऐनको आठौं संशोधन अनुसार मावि द्वितीय श्रेणीको शिक्षक भएको भन्दै उनले भने, म पालिका महासंघका साथीहरुसँग हार्दिक अनुरोध गर्छु, साथीहरुको जागिर जोगाइदिनुहोस् ।’

माध्यमिक विद्यालय शिक्षक युनियनकी सहअध्यक्ष कल्पना पनेरुले स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुलाई नजिकबाट हेर्नुपर्ने बताइन् । व्यक्ति हेरेर शिक्षक नियुक्ति गर्ने कारणले गर्दा शिक्षा क्षेत्र तहसनहस भएको उनको दाबी छ ।

समितिको छलफलमा नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरुलाई आन्तरिक रुपमा स्थायी प्रक्रियामा लैजानुपर्ने र शिक्षक सरहको सेवा, सुविधा दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया