शनिबार, वैशाख १५, २०८१

नेपाल इन्टरमोडलले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोड्यो

नेपालखोज २०८० पुष २० गते ९:१६

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले दुईवटा निर्माण कम्पनीसँग ठेक्का तोडेको छ। समितिले शुक्रबार सूचना जारी गर्दै देव निर्माण एण्ड सप्लायर्स र डाइनामिक कन्स्ट्रक्सनसँग ठेक्का तोडिएको जनाएको हो। 

देव निर्माणले रेल वे स्टेसनबाट विराटनगर आईसिपीको मूख्य गेटसम्म पुग्ने सडक निर्माण अलपत्र पारेको छ। डानामिक्सले भने विराटनगर आईसीपीको मर्मतसंभार कार्य नै सुरु नगरेको अवस्था छ।

समितिले पटक पटक ताकेता गर्दा पनि समय काम नगरी आईसिपी जाने सडक र आईसिपी मर्मत नै अलपत्र परेको कारण उनीहरुसँग ठेक्का तोड्न बाध्य भएको सूचनामा उल्लेख छ। 

ती कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ, ‘निर्माण व्यवसायीले सम्झौता बमोजिम समयमै निर्माण कार्य सम्पन्न नगरेको र यस समितिबाट पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा समेत अटेर गरे पश्चात ठेक्का किन नतोड्ने सम्बन्धी पत्र प्रेषित गर्दा समेत काम सम्पन्न गर्ने कुनै तदारुकता नदेखाएको एवम् सम्झौताको सर्त बमोजिम अधिकतम लिक्वीडेटेड ड्यामेज लाग्ने अवधि २०० दिनसम्ममा पनि निर्माण कार्य सम्पन्न नभएको र निर्माण कार्य सम्पन्न गर्ने संकेत समेत नदेखिएकोले सम्झौताको सर्त ७२ बमोजिम ठेक्का सम्झौता तोडिएको छ। साथै सर्त ७४ बमोजिम तपसिलको निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रकृया अगाडि बढाइने तथा सर्त ७५.३ बमोजिम बाँकी काम सम्पन्न गर्न लाग्ने खर्च सरकारी नियम सरह असुल उपर गरिने पनि छ।’

प्रतिक्रिया