आइतबार, जेठ ६, २०८१

आन्दोलन अनियन्त्रित भएपछि बरहथवामा कर्फ्यू आदेश

नेपालखोज २०८० पुष २० गते १८:५०

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अस्पतालको स्तरोन्नति गर्ने/नगर्ने विषयमा भएको आन्दोलन अनियन्त्रित भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सर्लाहीका सीडीओ कोमलप्रसाद धमलाले कर्फ्यू आदेश जारी गरेका हुन् । आज बेलुका साढे ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म बरहथवा नगर क्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।

१५ बेडको प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयलाई लिएर मेयर कल्पनाकुमारी कटुवालविरुद्ध उत्रिएका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको छ । आन्दोलनको क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।

आन्दोलनकारीले ढुंगामुढाबाट ८ प्रहरी घाइते भएको बताइएको छ ।

प्रतिक्रिया