शनिबार, पुष ५, २०८२

बङ्गलादेश : रेलमा आगजनी गरेको आरोपमा बीएनपी नेतासहित सात जना पक्राउ

नेपालखोज २०८० पुष २१ गते १६:५४

ढाका । बङ्गलादेशको प्रहरीले खचाखच भरिएको रेलमा आगजनी गरेको आरोपमा विपक्षी दलका सात सदस्यलाई शनिबार पक्राउ गरेको छ ।

शुक्रबार राति ढाकाको मध्य भागमा रहेको ‘इन्टरसिटी बेनापोल एक्सप्रेस’ रेलमा भएको आगलागीमा सयौँको सङ्ख्यामा यात्रुलाई जलिरहेको गाडीबाट बाहिर निकाल्न हम्मेहम्मे परेको थियो ।

विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आइतबार हुने राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा गरेको ‘विध्वंसकारी कार्य’ मा सम्लग्न बीएनपीका वरिष्ठ नेता नबीउल्लाह नाबी र पार्टीका अन्य छ जना कार्यकर्तालाई शनिबार बिहान राजधानीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक हुसेनले एएफपीसँग फोनमा भने, ‘नाबीले ‘बीएनपीको हिंसात्मक आन्दोलन’मा आर्थिक सहयोग गरेका थिए ।

बीएनपी र अन्य दर्जनौं विपक्षी दलले आइतबारको मतदान बहिष्कार गरिरहेका छन्, जसलाई उनीहरूले लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनाको शासनलाई कुण्ठित गर्न योजना गरिएको ‘ढोङ’ भएको बताएका छन् ।

सो पार्टीले आगलागीको जिम्मेवारी लिएको भन्ने आरोपको खण्डन गर्दै घटनाको अन्तर्राष्ट्रिय छानबिनको माग गरेको छ । पार्टीका प्रवक्ता एकेएम वाहिदुज्जमानले एएफपीसँग भने, ‘बीएनपीको अहिंसात्मक आन्दोलनलाई बदनाम गर्ने उद्देश्यले सरकारी पदाधिकारीहरूले गरेको यो पूर्वनियोजित विध्वंसात्मक कार्य हो ।’

प्रतिक्रिया