आइतबार, जेठ ६, २०८१

यस्तो हुन्छ वास्तु मिलेको घर

नेपालखोज २०८० पुष २२ गते ६:०९

आजको आधुनिक युगका कतिपय मानिसमा वास्तुशास्त्र भ्रम मात्रै हो भन्ने बुझाइ पनि पाइन्छ । तर, यो सरासर गलत हो । वास्तवमा वास्तुशास्त्र प्राचीन विज्ञान हो । वास्तुशास्त्रमा चर्चा गरिएका कतिपय कुरा विज्ञानले प्रमाणित गरेको छ ।

भू–धरातलदेखि वायुको बहावसम्मका कुरालाई वास्तुशास्त्रमा ध्यान दिइने भएकाले घर वा कुनै पनि संरचना बनाउँदा यसको अनुशरण गर्न आवश्यक छ । परापूर्वकालदेखि वास्तुशास्त्रलाई मान्यता दिइएको पाइन्छ ।

यसको ज्वलन्त उदाहरण काठमाडौंका प्रत्येक प्राचीन दरबार वा घरमा वास्तुशास्त्र प्रयोग गरिएको हुनुलाई लिन सकिन्छ । 

यद्यपि, बाक्लिँदो सहरीकरणका कारण शतप्रतिशत वास्तुशास्त्रकै आधारमा घर बनाउने स्थिति छैन । तर, पनि केही अंशमा यसको अनुशरण गर्न सकेमा घरमा आइपर्ने विभिन्न सम्भावित व्यावधानबाट बच्न सकिन्छ ।

कुन प्रयोजनका लागि उक्त संरचना निर्माण गरिन लागिएको हो, त्यसका लागि सहयोगी हुन्छ ।

अब जानौँ कस्तो हुनुपर्छ वास्तु मिलेको घर :

मूलढोका 
पूर्वतिर बाटो भएको जग्गामा घर बनाउनु उपयुक्त मानिन्छ । अर्थात् घरको मूलगेट पूर्वतिर हुनुपर्छ । सूर्यको किरणबाट सकारात्मक ऊर्जा आउने भएकाले पूर्व दिशा ढोकाका लागि उपयुक्त मानिएको हो ।

यसबाहेक, उत्तरतिर पनि मूलढोका बनाउन सकिन्छ । कतिपय कुरा भूगोल हेरेरसमेत निर्धारण गरिन्छ । खासगरी, पहाडी र हिमाली क्षेत्रमा दक्षिणर्फको ढोकालाई शुभ मानिन्छ । 

सुत्ने कोठा
बालबालिका वा बुद्धि विकास भइरहेका व्यक्तिका लागि पूर्वतिरको कोठा एकदमै शुभ हुन्छ । श्रीमान्–श्रीमती र घरमूली सुत्ने कोठा जहिले पनि दक्षिण–पश्चिमको दिशामा हुनुपर्छ । 

पूजाकोठा
सकारात्मक ऊर्जाका लागि पूर्वदिशा उपयुक्त हो । यसकारण पूर्वको कोठा वा कुनामा पूजा कोठा बनाउन सकिन्छ ।  

बैठक कोठा
बैठक कोठा सधैँ पूर्वोत्तर (पूर्व–उत्तर) दिशामा हुनुपर्छ । र, यो खुलेको हुन आवश्यक छ । घरायसी सरसल्लाहदेखि ठुल्ठूला निर्णयसम्म बैठक कोठामा बसेर गरिने भएकाले पूर्वोत्तरको दिशा बैठक कोठाका लागि उपयुक्त हुन्छ ।

पानीको स्रोत
खानेपानीको धारा, ट्यांकी इनार आदिलाई पनि पूर्वोत्तर दिशामा राख्नुपर्छ । 

शौचालय
पूर्व र उत्तर दिशातिरको कुनामा भुलेर पनि शौचालय बनाउनुहुँदैन । यी दिशामा शौचालय बनाउँदा सूर्यको प्रभावसँगै नकारात्मक तत्व घरमा प्रवेश गर्ने सम्भावना हुन्छ । जसले परिवारको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत असर गर्छ । पूर्व र उत्तर दिशामा शौचालय भएमा त्यो घरका सदस्यको मृत्यु हुने मान्यता छ ।

भान्साघर
पूर्व र दक्षिणको बीचको दिशालाई आग्नेय दिशा भनिन्छ । यो दिशामा भान्साघर बनाउन सकिन्छ । तर, चुलो दक्षिणतिर फर्केको हुनुहुँदैन । त्यस्तै, घरमूलीले कहिले पनि दक्षिणतिर फर्केर खाना खानुहुँदैन  ।

यसबाहेक विद्युतीय वस्तु यस दिशामा राख्न उपयुक्त हुन्छ । संसारमा भएका पञ्चतत्व, पृथ्वी, जल, तेज, वायु र आकाशको प्रभाव यसरी सही तरिकाले पर्ने गरी बनाइएको घर नै वास्तुशास्त्रअनुसार उत्तम घर हो । 

प्रतिक्रिया