शनिबार, वैशाख १३, २०८२

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

नेपालखोज २०८० पुष २३ गते १६:००

काठमाडौं । चितवनको माडी नगरपालिका–२ घर भई भरतपुर महानगरपालिका–३ बेलचोकस्थित इनवेरियल कुखुरा मासु पसल संचालन गरी बस्ने ३४ वर्षीया दुर्गा अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलोसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै पसलमा गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–३ तिलकपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलो १ सय ४ ग्रामसहित बझाङ केदास्युँ गाउँपालिका–६ बस्ने ६३ वर्षीय नर बहादुर धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ शिवटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित सोही नगरपालिका–१३ बस्ने शंकर राना समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही गाउँपालिका–५ हलन चोक बस्ने १९ वर्षीय बिशाल विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ
चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका–६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो । सो क्रममा हेण्ड सेट १ थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक सडकमा बा.प्र.०३–००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको राप्ती नगरपालिका–१ महादेबटारस्थित सडकमा बा.प्र. ०३–००१ ख २५३६ नम्बरको बसमा ना.३९ प ५०४८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रत्ननगर गरपालिका–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौंको गोकर्णेश्वसर नगरपालिका–९ आरूबारी बस्ने ४५ वर्षीय निमा शेर्पा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरे बस्ने ३५ वर्षीय गोपाल थिङ सोही ठाउँस्थित बागमती खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । उक्त खोलामा माछा मार्न भनि गएका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ कदुवा बस्ने ५५ वर्षीया ईन्दिरा कुमारी कार्की सोही ठाउँस्थित कदुवा भञ्ज्याङ जङगलको भिर तल आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घाँस काट्न गएकी उनी लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । चितवनको भरतपुर महानगरपालिका–२६ सिसवारस्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया