शनिबार, वैशाख १३, २०८२

दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुवै चालकको मृत्यु

नेपालखोज २०८० पुष २४ गते १५:१३

महोत्तरी । औरही नगरपलिका–१ स्थित सडकमा प्र.२–०२–००४ प १८४० नम्बर र ज.११ प ८०९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलका दुवै जना चालकको मृत्यु भएको छ ।

दुर्घटनामा ज.११ प ८०९९ नम्बरको मोटरसाइकल चालक भंगहा नगरपालिका–३ बस्ने ३२ वर्षीय धर्मेन्द्र महतो र प्र.२–०२–००४ प १८४० नम्बरको मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका–८ थली बिरता टोल बस्ने ३० वर्षीय मुकेश चमारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनीहरूको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनालाई ट्रमा सेन्टर काठमाडौं र १ जनालाई न्यूरो अस्पताल जनकपुर थप उपचारको लागि रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाकेटमारीमा संलग्न दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रूपैयाँ पाकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पकराउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौं टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक माङ्खा गाउँपालिका–९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाई समेत ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार ९ सय ८० रूपैयाँ, १ सय ५ अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइट डेरा गरी बस्ने सुनसरी हासपोशा गाउँपालिका–१ घर भएका चन्द्र जंग पाण्डेको कोठाबाट सुन तथा चाँदीका विभिन्न गहना गरी करिब ३ लाख २४ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया