आइतबार, जेठ ६, २०८१

नक्कली लाइसेन्स प्रकरणबारे अख्तियारले थाल्यो छानबिन

नेपालखोज २०८० पुष २५ गते १८:५१

काठमाडौं । करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए । ‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न टोली आएको हो’, उनले भने, ‘फिल्डका अफिसमा काम हुने र हामीसँग डाटाबेस मात्रै रहने भएकाले कागजात लैजाने कुरा भएन । तर थप अध्ययनका लागि उहाँहरु फेरि आउने कुरा गर्नुभएको छ ।’

अख्तियारका एक सहसचिवले पनि अनुसन्धान सुरु भएको पुष्टि गरे । उनका अनुसार, मन्त्रालयलाई छानबिन गर्नु भनी पत्र लेखेदेखि नै अनुसन्धान सुरु भएको हो । उनले भने, ‘पछिल्लो समय सबैतिर यसवारे समाचार आउन थालेपछि प्रमाण नष्ट नहोस् भन्नेमा हाम्रो चासो रहेको हो ।’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आफू बिदामा भएकाले यसवारे जानकारी नभएको प्रतिक्रिया दिए ।

अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रियाको सफट्वेयर र त्यसको डाटाबेसको वारेमा विस्तृत विवरण बुझेको हो । सफ्वेयरमा पहुच हुनेहरुको पहिचान, उनीहरुको भूमिका र उनीहरुमाथि निगमन गर्नेको कामकारवाहीवारे टोलीले जानकारी लिएको हो ।

प्रतिक्रिया