शनिबार, जेठ ५, २०८१

‘अवधी राष्ट्रिय (मातृभाषा) समाचार सेवा’को अवधी पत्रकार सङ्घले गर्याे खुसी व्यक्त

नेपालखोज २०८० पुष २६ गते १०:३८

खजुरा (बाँके) । सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरुआत गरेकामा अवधी पत्रकार सङ्घ नेपालले खुसी व्यक्त गरेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रद्वारा बुधबार जारी विज्ञप्तिमा राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान सँगसँगै विकास तथा सम्बद्र्धनमा टेवा पुग्ने उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘यो ऐतिहासिक कार्यका लागि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा एवं रासस परिवार र प्रत्यक्षरुपमा सहयोग गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।’

विज्ञप्तिमा मातृभाषामा समाचार सेवाले पश्चिम नेपालको लुम्बिनी प्रदेशअन्तर्गत परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधी भाषीलाई प्रत्यक्ष फाइदा पुग्ने उल्लेख गरिएको छ । साथै अवधी भाषाको विकास तथा संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा राससले सुरु गरेको सकारात्मक प्रयासलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा यो सहयोग र सहकार्यको निरन्तरताको समेत कामना विज्ञप्तिमा गरिएको छ ।

राससले राष्ट्रिय, क्षेत्रीय र स्थानीय समाचार स्थानीय भाषामै उत्पादन र अनुवाद गरी भाषाको बाहुल्य भएका क्षेत्रमा सेवा पुर्याउने नीतिअन्तर्गत यो सेवाले नेपालका अवधी भाषाको प्रयोग गर्ने सञ्चारमाध्यम र सरोकारवालालाई सेवा पुग्ने विश्वास लिइएको सङ्घले जनाएको छ ।

सङ्घले राससलाई मातृभाषा समाचार सेवा सुरु गर्न दिएको प्रतिबद्धताप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र मन्त्रालयलाई धन्यवाद व्यक्त गरेको छ । राससले अवधी भाषाका समाचार तथा अन्य ‘कन्टेन्ट’ उपलब्ध गराएपछि अवधी भाषाका नयाँ सञ्चालन हुने सञ्चारमाध्यम र भएका सञ्चारमाध्यमलाई सञ्चालनमा सहयोग पुग्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया