आइतबार, वैशाख १६, २०८१

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच १३ वटा जोखिमहरु समेट्दै पूर्व सुचना प्रणाली सम्झौंता

नेपालखोज २०८० पुष २६ गते ११:४३

काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात रहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले आज पौष २५ गते बुधबार एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘’पूर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्र्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिन चाहन्छु । कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहकालागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो । थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको योे सहकार्य एक अर्को कोशेढुङ्गा हो । एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफल भएका छौ । बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु । ‘

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पुर्व सुचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा हामी गौरवान्वित छौ । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो ।

सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ । एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौ ।

पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरि बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पुर्व सुचना प्रवाह गरेको थियो ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा जनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर छ र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरुमा पनि पूर्वसूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरु माथि अध्ययन भईरहेको छ । पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनिकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गरे सँगै एनसेलले त्यस्ता स्टेसनहरुलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जानेछ ।

प्रतिक्रिया