काठमाडौंको सडकमा नेपाली सेनाको बख्तरबन्द गाडी

नेपालखोज २०७७ माघ २० गते ९:३१

काठमाडौं । नेपाली सेनाले सोमबार राति काठमाडौंको सडकमा बख्तरबन्द परेड सडकमा निकालेको छ । १० युद्ध कवज गण स्वयम्भूबाट हातहतियारले सुसज्जित बख्तरबन्द गाडीसहित नेपाली सेनाले चक्रपथ परिक्रमा गराएको हो ।

यसअघि २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएकै दिनको संयोगमा सेनाको सीतापाइलास्थित युद्धकवच गणले बख्तरबन्द गाडी चक्रपथमा निकालेको हो ।

सेनाले सोमबार राति चक्रपथ परिक्रमा गर्ने र बुधबार आठै पृतनामा रहेका बख्तरबन्द गाडी बाहिर निकाल्ने सूचना आइतबार नै सार्वजनिक गरेको थियो ।

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले आइतबार ट्विटरमा लेखेका थिए, ‘नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको, त्यसैगरी ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँदछौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछिको विकसित राजनीतिक घटनाक्रम भइरँदा नेपाली सेनाले भने उक्त परेडलाई सेनाले यसलाई ‘नियमित अभ्यास’ नै भनेको छ ।

प्रतिक्रिया