तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला

नेपालखोज २०८० माघ २ गते ८:१३

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री लक्ष्मीहरि मन्दिरमा धर्मशाला सञ्चालन गरिएको हो । मन्दिरका महन्थ जगतगुरु हिमालय बाबाले सरकारी निकाय र समुदायको सहयोग जुटाएर भवन निर्माण गरी धर्मशाला सञ्चालन गरिएको जानकारी दिए ।

धर्मशाला भएपछि महँगो खर्च गरेर होटलमा बास बस्नुपर्ने भक्तजनको समस्या कम हुने महन्थ हिमालय बाबाले बताए । बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयको करिब रु ३० लाख सहयोगमा निर्माण भएको दुईतले धर्मशाला भवनको दोस्रो तलामा छजना दाताले आफन्तका नाममा एक–एकवटा कोठा बनाएका छन् । महन्थ हिमालय बाबाका अनुसार इन्दिरा आचार्य, भेषबहादुर रावल, अनुप शर्मा, लालबहादुर न्यौपाने र रेणु थापाले एक–एकवटा कोठा बनाए ।

भुइँ तलाको सभाहलसहित धर्मशालामा एक दिनमा ५० जनाभन्दा बढी भक्तजन बास बस्न सक्ने क्षमता रहेको छ । धर्मशाला र श्रीलक्ष्मीहरि मन्दिर परिसरमा घेराबार पर्खाल र प्रवेशद्धार निर्माण भएको छ । सहरी विकास मन्त्रालयको रु ३० लाख बजेटमा यस वर्ष धर्मशालाको डिलतर्फ पक्की पर्खाल निर्माण सुरु भएको छ । डिलमुनि भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्की पर्खाल बनाएर घेराउ गर्न लागिएको हो । ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बीच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ ।

पृष्ठभूमिमा धवलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसरदेखि बागलुङको कुडुले जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । नजिकै दुई सय वर्ष पुरानो मानव निर्मित बूढोपोखरी रहेको छ । रत्नेचौरको तोरीबारी, लामो पुल, श्रीलक्ष्मीहरि मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताएका छन् ।

प्रतिक्रिया