शनिबार, वैशाख १५, २०८१

बेलायतमा आतंक मच्चाउँदै मुसा, कहाँबाट आए २५ करोड मुसा ?

नेपालखोज २०८० माघ १० गते १९:३५

सबैभन्दा सफासुघ्घर देशको कुरा गर्दा दिमागमा युरोपेली देशहरु र त्यसमा पनि बेलायतको नाम आउँछ । तर पछिल्लो समयमा बेलायत आफ्नै दुर्गन्धका कारण समस्याग्रस्त छ।

बेलायतमा यो समय मुसाले निकै दुःख दिइरहेको छ । यी कुनै चानचुने मुसा होइनन्, निकै बडेमानका मुसा हुन् ।

अचानक देखा परेका मुसाहरुको नयाँ लहरले बेलायतबासीमा चिन्ता पैदा गरेको छ । मुसाको संख्यामा अचानक भएको वृद्धिको प्रमुख कारणको रुपमा डस्टबिनको संकलन समयमै नहुनुलाई ठानिएको छ । अर्थात्, सरसफाइँमा कमजोरी हुँदा मुसाको संख्या बढिरहेको छ ।

बेलायतमा आतंक मच्चाइरहेका ती मुसा आनुवंशिक रुपमा उत्परिवर्तिन मुसा हुन् । ब्रिटिस पेस्ट कन्ट्रोल एसोसिएसनका अनुसार पछिल्लो ९० दिनमा मुसाको समस्या समाधान गरिदिनका लागि अनुरोध गर्ने मानिसहरुको संख्या ११५ प्रतिशतले बढेको छ ।

बेलायतमा यी मुसाको संख्या करिब २५ करोड रहेको आँकलन गरिएको छ । जबकि बेलायतको कुल जनसंख्या ६ करोड ७५ लाख छ । अर्थात् मानिसको संख्याको तुलनामा मुसाको संख्या ४ गुणाले धेरै छ । पछिल्लो समय चिसो याममा मुसाहरु घरभित्र छिरेकाले झनै समस्या पैदा भएको बताइएको छ ।

द मिररका अनुसार ब्रिटिस पेस्ट कन्ट्रोल एसोसिएसनका प्राविधिक व्यवस्थापक नताली बुंगे भन्छिन्, ‘ठण्डीका क्रममा मुसाको संख्यामा वृद्धि हुन्छ । तर लामो समयदेखि चलिरहेको यो समस्याका कारण आगामी दिनमा संक्रमणको सामना गर्नुपर्ने हुनसक्छ ।’

उनका अनुसार ठण्डी मौसममा मुसाको संक्रमणमा वृद्धि हुनु सामान्य कुरा हो । किनकि मुसाले खानेकुरासम्म पुग्नुका साथै तातो तथा सुख्खा ठाउँमा आश्रय पनि खोज्दछ । पर्वहरुको बेलामा डस्टबिनलाई समयमै संकलन गरेर फोहोर व्यवस्थापन नगर्दा पनि मुसाको समस्या बढ्छ ।

लण्डनस्थित क्लिनिकल पेस्ट कन्ट्रोलका शत्रुजीव नियन्त्रक पल बेट्स भन्छन्- मुसाको समस्यालाई लिएर फोन गर्नेहरुको संख्या सन् २०२१ को तुलनामा सन् २०२२ मा ६ प्रतिशतले बढ्यो । त्यस्तै गत वर्ष त्यसमा ३ प्रतिशतले वृद्धि भयो ।

बेलायतका विभिन्न सहरी इलाकामा ठूला ठूला आकारका मुसा देखिएको गुनासो मानिसहरुले गर्ने गरेका छन् ।

यी जेनेटिकल्ली मोडिफाइड मुसाहरु २ फिटसम्म लामा भएको बताइएको छ । साथै ती मुसाहरुले विष समेत पचाउन सक्ने भएका छन् ।

स्मरण रहोस् मुसा निकै छिटोछिटो प्रजनन गर्ने जीव हो । मुसाको पोथीले एक बेतमा ६ वटासम्म बच्चा जन्माउन सक्दछ र बच्चा जन्माएको ४८ घण्टामै पुनः गर्भाधारण गर्नसक्छ ।

प्रतिक्रिया