आइएफआरसीको महासचिवमा पुनः चापागाईं

नेपालखोज २०८० माघ १९ गते ९:३७

काठमाडौं । विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेका छन् । उनले दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुन् ।

पहिलोपटक सन् २०२० फेब्रुअरी २ मा चापागाईंले उक्त पदको पहिलो चारवर्षे कार्यकाल सम्हालेका थिए । स्विट्जरल्यान्डको जेनेभामा गत वैशाखमा सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्षअगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः समयावधि थप गर्ने निर्णय गरेको थियो । सो बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ । अब चापागाईं सन् २०२८ को जनवरीसम्म आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनु हुनेछ ।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गरिराखेको छ । महासचिव चापागाईंले मानवीय सेवाका क्षेत्रमा पुर्याएको काम तथा कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाउँदै आएको छ ।

दोस्रो कार्यकालको पदावधि थप गर्ने निर्णय पछि महासचिव चापागाईंले भने, ‘आइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष केट फोब्र्सको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित छु । यो ठूलो जिम्मेवारी हो र त्यहाँ थुप्रै चुनौती हुनेछन् तर हामी समाधान खोज्न तथा हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।’

प्रतिक्रिया