पूर्वी पृतनामा ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न

इटहरी । नेपाली सेनाद्वारा आयोजित पूर्वी पृतना मुख्यालय तथा मातहतका बाहिनी र गणमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ ।
‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनको प्रधानसेनापति प्रभुराम शर्माले आज यहाँ उद्घाटन गरे ।
सो अवसरमा उनले आर्थिक प्रलोभनमा परेर अरु देशको सैनिकमा भर्ना हुन नजान आग्रह गरे । प्रधानसेनापति शर्माले नेपाली सेनाको सङ्गठनको प्रतिनिधि पात्र भएकाले भूपू सैनिकलाई उच्च अनुशासन कायम राख्न सुझाव दिँदै अन्य देशमा सेनाकारुपमा काम गर्न जानु नेपालीका लागि सुहाउँदो विषय नभएको उल्लेख गरे ।
सेवामा रहँदा प्राप्त गरेका ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर र समाजको उत्थानमा लगाउन सुझाव दिँदै उहाँले स्वदेशमै सम्भावनाको खोजी गरी सुखमय जीवनका लागि काम गर्न सुझाव दिए । उनले भने, ‘नेपालमै परिश्रम गरेर मातृभूमिप्रतिको ऋण चुकाउनुहोस्, राजीनामा दिएर विदेश पलायन नहुनुस् ।’
सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेना साझा शक्ति र सम्पत्ति हो भन्ने भावना जागृत तुल्याउने गरी काम गर्न भूपू सैनिकलाई सुझाव दिए । प्रमुख अधिकृत तण्डुलले सम्मेलन र सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकका लागि सञ्चालन भइरहेको विभिन्न सेवा र सुविधाबारे जानकारी गराए ।
सो अवसरमा कोशी प्रदेशका ज्येष्ठ भूपू गङ्गाबहादुर कटुवाल र भीमकुमारी खत्रीलाई ज्येष्ठ सम्मान प्रदान गरियो । कोशी प्रदेशमा यस वर्षको ‘भूपू सैनिक सम्मेलन’ पूर्वीपृतना इटहरी, नम्बर २ हिले, नम्बर १८ गाईघाट, नम्बर २१ बाहिनी चारआली तथा पाँचथरको रणशेर गण र ओखलढुङ्गाको दुर्गा बक्स गणमा आयोजना गरिएको थियो ।
सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइएको रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरियो ।
भूपू सैनिकको जोसिलो मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी र सैनिक ब्याण्ड प्रदर्शनका साथै ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका मातापितालाई सम्मान र अन्तरक्रिया कार्यक्रम भयो ।
प्रतिक्रिया