शनिबार, जेठ ५, २०८१

शुक्लागण्डकी महोत्सवमा पातको माला प्रयोगमा

नेपालखोज २०८० फागुन ६ गते ७:४२

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

महोत्सवमा खादा र ब्याचको सट्टामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको हो । यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक समिको पातबाट बनाइएको माला र स्थानीय फूल प्रयोगमा ल्याइएको हो । साथै महोत्सवमा खादा र ब्याच प्रयोग गरिएको छैन ।

महोत्सव उद्घाटनका अवसरमा समिबाट बनेका माला आमन्त्रित व्यक्तिहरूलाई लगाइएको थियो । अन्य दिनहरूमा पनि अतिथि र कलाकारलाई स्थानीय माला प्रयोग गरिएको अतिथि सत्कार उपसमिति संयोजक जोशीला थापाले जानकारी दिए। शुक्लागण्डकी नगरपालिका–६ ले जनजाति लक्षित कार्यक्रमअन्तर्गत हालै २५ दिने बाँसका हस्तकला सामान बनाउने तालिम प्रदान गरेकामा सहभागी प्रशिक्षार्थीले सो माला बनाएका हुन् ।

उनीहरूले उत्पादन गरेका बाँसका सामग्री महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएको वडाध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए । उनले भने, ‘तालिमको समापनका अवसरमा समि र फूल मिलाएर माला बनाएका थिए । सोही मालालाई महोत्सव आयोजकसँग कुरा गरी प्रयोगका लागि अनुरोध गरिएको हो । आयोजकले प्रतिमाला रु ३० दिएका छन् ।’

महोत्सव मूल संयोजक एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमलप्रसाद रिमालले स्थानीयले उत्पादन गरी उपलब्ध गराउँछौँ भनेपछि आयोजकले उनीहरूलाई प्रोत्साहनका लागि पनि स्थानीय मालालाई नै प्राथमिकता दिएको बताए । उनले भने, ‘यस क्षेत्रमा अहिले फूल छैन, अतिथि सत्कारका लागि हामीले पनि बाहिरबाट खरिद गरी ल्याउनुपर्ने हुन्थ्यो ।’

प्रतिक्रिया