शुक्रबार, असार २०, २०८२

राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो : नेता उप्रेती

भीष्मराज ओझा र सिर्जना राई २०८० फागुन ७ गते ९:४१

काठमाडौं । विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका नेता भरत उप्रेतीको वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा नै भ्रष्टाचार मौलाएको बताएका छन् ।

भ्रष्टाचार मुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उहाँले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिए । ‘आफैँ खाऔँ आफैँ मोटाऊ भन्नेतिर लाग्नुहुँदैन । एकजुट भएर सबै देश बनाउन लाग्नुस्’, उनले भने ।

प्रजातन्त्र दिवसका अवसरमा उनले सबै पार्टीका नेतृत्वलाई कांग्रेसका संस्थापक विपी कोइराला, गणेशमान सिंहको सिद्धान्त र जीवनसङ्घर्षलाई आत्मसात् गरेर बाटो बिराएको भए पुनःविचार गर्न आग्रह समेत गरे । सबै नागरिकले सुख शान्तिसँग जिउन पाए मात्र प्रजातन्त्र दिगो हुने नेता उप्रेतीको धारणा छ ।

विसं १९८८ मा धादिङ नौबिसेमा जन्मनुभएका नेता उप्रेती ११ वर्षको हुँदा अध्ययनका लागि काठमाडौँ आउनुभएको थियो । एसएलसी परीक्षा दिने तयारीमा रहेका बेला २००६ सालमा गुरु नरहरि दवाडीले आफ्नो निवास जैसीदेवलमा ट्युसन पढाउने क्रममा पहिलोपटक प्रजातन्त्रका बारेमा जानकारी गराएको उनले बताए ।

नेता उप्रेतीले भने, ‘कांग्रेसका संस्थापक नेताहरु विपी र गणेशमानजी कसरी र किन निर्वासनमा जानुभयो, भनेर जानकारी गराउनुका प्रजातन्त्रको सङ्घर्षका बारेमा सुनाउनु भएपछि तत्कालीन शासकबाट मुलुकमा अन्याय भएको रहेछ भन्ने दिमागमा पर्यो । त्यसपछि हाम्रो भेट दयाविर सिंहसँग भयो । उहाँले हामीलाई प्रजातन्त्रका बारेमा धेरै सिकाउने र प्रजातन्त्रको आन्दोलनका काममा लगाए ।’

विसं २००७ देखि केही साथीसहित आफूहरु प्रजातन्त्रको आन्दोलनका क्रममा पम्पलेट र अन्य साम्रगी आदानप्रदान गर्ने क्रममा भूमिगत भएको जानकारी गराउँदै उनले राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरु खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको स्मरण गरे ।

प्रतिक्रिया