शुक्रबार, वैशाख २१, २०८१

रास्कोटमा ‘मेयर हेल्थ केयर कार्यक्रम’

नेपालखोज २०८० फागुन ११ गते ८:३०

मान्म (कालीकोट) । ‘मेयर हेल्थ केयर कार्यक्रम, घरमा स्वास्थ्यकर्मी साथी’ नाराका साथ सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले सेवा लिएका छन् । रास्कोट नगरपालिका–९ को फुकोटगाउँमा सञ्चालन भएको ‘मेयर हेल्थ केयर’ कार्यक्रमबाट एक सय ३८ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

मेयर हेल्थ केयर कार्यक्रमबाट फुकोट स्वास्थ्य चौकी सञ्चालन भएको शिविरमा एक सय ३८ सेवाग्राही सेवा लिएको नगरपालिकाका प्रमुख धर्मराज शाहीले जनाकारी दिए । ‘एक सय सात महिला, ३१ पुरुषले स्वास्थ्य सेवा पाएका छन्’, उनले भने, ‘त्यसमध्ये आठजनाको मधुमेह जाँच, २४ जनाको भिडियो एक्सरे, एक सय तीन जनाले आयुर्वेद सेवा लिएका छन् ।’

रास्कोट नगरपालिकामा मेयर हेल्थ केयर कार्यक्रमअन्तर्गत हरेक वडामा एकजना एमबिबीएस डाक्टरसहितको टोली पुगेर जनताको स्वास्थ्य परीक्षण गरिएको नगरप्रमुख शाहीले जानकारी दिए ।

‘नौवटा वडा भएको रास्कोटमा यस्तो शिविर एउटा वडामा वर्षमा चारपटक चल्छ’, उनले भने, ‘चिकित्सकले ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई केन्द्रमा राखेर सुविधा दिइरहेका छन् ।’ स्थानीयको ‘प्रेसर, सुगर’, प्रयोगशाला परीक्षणदेखि गर्भवतीको भिडियो एक्सरेसम्मका सुविधा नगरपालिकाले उपलब्ध गराउने गरेको नगरप्रमुख शाहीले जानकारी दिए ।

प्रतिक्रिया