शनिबार, असार २१, २०८२

एमालेले माग्यो गृहसहित चार मन्त्रीको राजीनामा

नेपालखोज २०८० फागुन १३ गते ११:५३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चार मन्त्रीको राजीनामा माग गरेको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

उनले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताए ।

उनले नेकपा एमालेले फागुन ६ गतेदेखिका बैठकमा सरकारको जवाफ माग गरेपनि सरकारले बेवास्ता गरिरहेको बताए । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्नु नपर्ने बताए ।

उनले भने– ‘हामी गत ६ गतेदेखि संसदमा बालकुमारी घटनाका दोषी भौतिकमन्त्री र बालकुमारी घटनामा गोली ठोक्न् आदेश दिने गृहमन्त्रीको बिरुद्धमा आवाज उठाइरहेका छौँ । अख्तियारको छानबिनमा रहेका स्वास्थ्यमन्त्री मन्त्री पदमा बस्न किमल्दैन । उनको राजीनामा मागिरहेका छौँ । रामग्राम लिजमा दिने पर्यटनमन्त्रीको राजीनामा मागिरहेका छौँ ।

हामीले संसदकमा हप्तौँ दिनदेखि कुरा उठायाैँ सरकार सुन्न तयार छैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्ने ठाउँमा बाहिरि हिँडिरहेका छन् । प्रतिपक्षले माग उठाउँदा सरकारले माग सम्बोधन गर्ने हो भने वेल घेर्नुपर्ने ठाउँमा पुग्दैन । सरकारले बलिमिच्याईं गरेर अघि बढ्दा माग सम्बोधन हुन सकेका छैनन् ।

दोषी मन्त्रीहरुलाई तत्काल बर्खास्त गरोस् । म माग गर्न चाहन्छु । हामी देशका जल्दाबल्दा मुद्दा उठाएर आएका छौँ । मिटरब्याजी पीडित आन्दोलनमा छन् । उनीहरुको आवाज सुनिएको छैन ।’ उनले नागरिकका जल्दाबल्दा आवाज सरकारले नसुनेको बताए ।

प्रतिक्रिया