सोमबार, असार २३, २०८२

सिनेट सिटका लागि कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन अग्रिम पङ्क्तिको राजनीतिमा फिर्ता

नेपालखोज २०८० फागुन १३ गते १२:१६

न्पोमपेन्ह । कम्बोडियाली अधिकारीहरूले आइतबार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्वनेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिकरूपमा राजनीतिमा फर्कने मञ्च तयार भएको छ ।

करिब चार दशकको कट्टरपन्थी शासनपछि हुन सेनले गत अगस्टमा भएको राष्ट्रिय निर्वाचनमा कुनै ठूलो अवरोधबिना आफ्ना ठूलो छोरा हुन मानेटलाई सत्ता सुम्पिएका थिए । सो बेला हुन सेनले आफूले राजीनामा दिए पनि अझै पनि प्रभाव कायम राख्ने मनसाय स्पष्ट गरेका थिए ।

एकहत्तर वर्षीय विधायक तथा सत्तारूढ दलका प्रमुखले मुलुकको माथिल्लो सदन सिनेटको एक सिटका लागि आइतबार बिहान तखमाओ सहरमा आफ्नो घर नजिकै मतदान गरे । उनले सिनेटको अध्यक्ष बन्ने मनसाय रहेको बताएका छन् । यसबाट राजा विदेशमा हुँदा उनलाई राज्यको प्रमुखका रूपमा काम गर्ने अनुमति प्राप्त हुनेछ ।

सोही मतदान केन्द्रमा मतदान गर्नुभएका पार्षद छिम वानारिथले उक्त कदमको स्वागत गरे । ‘यदि उनले सिनेटको नेतृत्व गरे भने हाम्रो मुलुक अझ विकसित र शान्तिपूर्ण हुनेछ’, उनले भने ।

निर्वाचनमा हुन सेनको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी), रोयलिस्ट फनसिनपेक पार्टी र अन्य दुई साना विपक्षी दलसहित चार राजनीतिक दलले भाग लिइरहेका छन् । बैसठ्ठी सिटको सिनेटमध्ये ५८ सिटमा एक सय २५ सांसद र ११ हजारभन्दा धेरै स्थानीय प्रशासकले मतदान गर्नेछन् । राजा नोरोदोम सिहामोनीले दुई सिनेटर र राष्ट्रियसभाले अन्य दुई सिनेटर नियुक्ति गर्नेछन् ।

धेरैजसो योग्य मतदाता सिपिपीका सदस्य छन् । उनीहरूले गत निर्वाचनमा सिनेटमा क्लिन स्विप गरेका थिए । यसबाट हुन सेनको जित करिब निश्चित भएको छ ।

‘यो हुन परिवारको शक्ति अझ बलियो भएको सङ्केत हो’, ‘हुन सेन्स कम्बोडिया’ का लेखक सेबस्टियन स्ट्रङ्गियोले भने, ‘पद सम्भावित प्रतिद्वन्द्वीको हातमा नजाओस् भन्ने सुनिश्चित गर्नु राम्रो हुन्छ ।’ सिनेटका अध्यक्ष बनेपछि उनका छोराको रक्षा हुने र परिवारको नियन्त्रण कमजोर हुनबाट रोक्न सकिने स्ट्रङ्गियोले बताए ।

राष्ट्रिय निर्वाचन समितिलाई आधिकारिक नतिजा प्रकाशित गर्न केही साता लाग्ने अनुमान गरिएको छ । यद्यपि राजधानी न्होमपेन्हका मतदाता हुन सेनलाई पुनः सत्तामा हेर्न चाहन्थे । कम्युन प्रमुख ओउ साइफनले भने, ‘उनीसँग ठूलो अनुभव छ त्यसैले यदि उनले सिनेटको नेतृत्व गर्नुभयो भने हाम्रो मुलुक समृद्ध हुनेछ ।’

सांसदहरूले हुन सेनका कान्छो छोरा हुन मैनीलाई उपप्रधानमन्त्रीका रूपमा मञ्जुरी दिएपछि सिनेटको निर्वाचन भएको हो । सरकारमा अहिले हुन सेनका धेरै नातेदार सामेल छन् । उहाँका सहयोगीहरूका धेरै छोराछोरी पनि शीर्ष पदमा छन् ।

सन् १९८५ सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट ध्वस्त भएको मुलुकलाई आधुनिकीकरण गर्न सहयोग गरे । यद्यपि आलोचकहरूले उहाँको शासनकालमा पर्यावरण विनाश, भ्रष्टाचार र करिब सबै राजनीतिक प्रतिद्वन्द्वीहरू समाप्त भएको पनि बताएका छन् ।

प्रतिक्रिया