बुधबार, असार १८, २०८२

क्रेमलिनका आलोचकले गरे एलेक्सी नाभाल्नीको शव आमालाई हस्तान्तरण

नेपालखोज २०८० फागुन १३ गते १५:१९

मस्को । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको मृत्युको एक साताभन्दा बढी समयपछि उनकी आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ उद्धृत गर्दै सिएनएनले बताएको छ ।

सामाजिक सञ्जालमा साझा गरिएको एक पोस्टमा यार्मिशले भनेका छन्, ‘एलेक्सीको शव उनकी आमालाई बुझाइएको छ, हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।’ उनका अनुसार नाभाल्नीको शव राखिएको आर्कटिक सहर सालेकहार्डमा उहाँकी आमा ल्युडमिला नाभाल्नाया अझै छन् ।

फेब्रुअरी १६ मा एलेक्सी नाभाल्नीको पेनल कोलोनी कारागारमा हुँदा मृत्यु भएको हो । रुसी प्रेस सेवालाई उद्धृत गर्दै सिएनएनले नाभाल्नीले ‘टहलिएपछि अस्वस्थ महसुस गर्नुभएको’ र ‘करिब तुरुन्तै’ बेहोश भएको बताएको छ ।

यार्मिशले नाभाल्नीको अन्तिम संस्कार सम्बन्धमा अझै योजना नबनाइएको बताए । ‘परिवारले चाहेअनुसार र एलेक्सीको चाहनाबमोजिम गर्न अधिकारीहरूले हस्तक्षेप गर्छन् वा गर्दैनन् हामीलाई थाहा छैन’, उनले भने, ‘खबर आउनेबित्तिकै हामी तपाईंलाई सूचित गर्नेछौँ ।’

नाभाल्नीको परिवार र सहकर्मीहरूले उनको मृत्युका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन् । एलेक्सी नाभाल्नीको मृत्यु मार्चमा रुसमा हुन गइरहेको राष्ट्रपति निर्वाचनअघि भएको छ ।

एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले पुटिनमाथि नाभाल्नीको मृत्युको कारण लुकाउन र उनको अन्तिम संस्कारमा ठूलो भीड सहभागी हुने डरले शवलाई राख्न आदेश दिएको आरोप लगाएका छन् । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको सिएनएनले बताएको छ ।

पछिल्ला धेरै दिनदेखि नाभाल्नीको परिवारले रुसी अधिकारीहरूसँग उनको शव दिन अनुरोध गरिरहेको थियो । एलेक्सी नाभाल्नीकी आमा ल्युडमिला नाभाल्नायाले आफ्नो छोराको मृत्युपछि तुरुन्तै शव निकाल्न सालेकहार्डको भ्रमण गरेका थिए । यद्यपि उनको अनुरोधलाई रुसी अधिकारीहरूले बारम्बार अस्वीकार गरेका थिए ।

प्रतिक्रिया