सोमबार, असार २३, २०८२

ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै

नेपालखोज २०८० फागुन १४ गते ८:३९

ढोरपाटन (बागलुङ) । ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो ।

बहुवर्षे योजनाअनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड–१९ का कारण केही समय काम प्रभावित बनेको थियो । अहिले उक्त कामले तीव्रता पाएको छ । ढोरपाटन नगरपालिका–६ दोगाडी हुँदै गाडीखोला–चामिद्वारा–छेन्तुङ ढोरपाटन सडक राष्ट्रिय प्रथामिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको विकल्पको रुपमा लिइन्छ ।

दूरदराजका गाउँ छिचोल्दै ढोरपाटन पुग्ने उक्त सडक सिकार आरक्ष कार्यालयको अवरोधका कारण ढोरपाटन उपत्यका जोड्न सकिएको छैन । हाल दोगाडीदेखि खानी गाउँसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्दै आएको छ ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटले सडक कालोपत्रे हुँदै आएको हो । २५ करोड २६ लाखमा सम्झौता भएर काम हुँदै आएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर प्रकाश श्रीसले जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेश सरकारले रु तीन करोड मात्र विनियोजन गरेको भन्दै बजेट थप नभए यस वर्ष पनि कालोपत्रेले पूर्णता पाउन नसक्ने उनको भनाइ छ ।

हालसम्म करिब ९० प्रतिशत कालोपत्रेको काम सकिएको उनले जानकारी दिए । चालु आवमा सडक कालोपत्रेका मंसिरदेखि सुरु भएको जनाउँदै जिम्मा पाएको निर्माण कम्पनीले निरन्तर काम गरी रहेको उनले बताए । बजेट थप भए यस वर्ष कालोपत्रे सक्ने गरी काम भएको उनको भनाइ छ । काम पूरा गर्न अझै थप रु चार करोड बजेट आवश्यकता रहेको छ । गत वर्ष करिब रु छ करोडको काम भएको उनले बताए ।

प्रतिक्रिया