सोमबार, असार २३, २०८२

प्राङ्गारिक कृषिउपजको उत्पादन बढाउन जोड

नेपालखोज २०८० फागुन १४ गते ८:३२

लुम्बिनी । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा बिज्ञहरुले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा आइतबार आयोजना गरिएको कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तक्र्रियामा सो कुरामा जोड दिएका हुन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले जनाएका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि उद्यम केन्द्र नेपाल, उद्योग वाणिज्य महासङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि वस्तुको बजार बढ्दै गएकाले अहिले भइरहेको प्राङ्गारिक उत्पादनले बजार माग पूरा गर्न नसक्ने हुनाले उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले विस्तारै यसको बजार बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषिउपजलाई प्राङ्गारिकरण गर्दै जानुपर्ने भनाइ राखे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रका बोर्ड सदस्य झलकलाल श्रेष्ठले तीनै तहका सरकारसँग कृषिको कुनै प्रकारको तथ्याङ्क नभएको बताउँदै यसले कृषिको व्यावसायिक विकास हुन नसक्ने भनाइ राखे । त्यस अवसरमा सङ्घका अध्यक्ष तथा मेला सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले अन्तक्र्रियामा उठेका कुरालाई लिपिबद्ध गरेर समस्या समाधानका लागि सम्बन्धित तहमा पहल र पैरवी गरिने बताए । उनले कृषिलाई प्रवद्र्धन गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान हुने र कृषिमा लगानी तथा युवा आकर्षण गरी उद्यमशीलतासँगै रोजगारीको सिर्जना पनि हुने भएकाले कृषिको प्रवद्र्धनको लागि सङ्घले पहलकदमी लिइएको जानकारी गराए ।

कार्यक्रममा सङ्घका कृषि परामर्शदाता डा प्रदीप शर्मा पौडेल, हेफर इन्टरनेसनलका एसोसियट डाइरेक्टर डा राम अधिकारी, बुटवल उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलगायतले नागरिको स्वास्थ्यको दृष्टिकोणले अस्पतालमा भन्दा पनि स्वस्थ्यकर खाद्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने भनाइ राखेका थिए ।

प्रतिक्रिया