बिहीबार, वैशाख २०, २०८१

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

नेपालखोज २०८० फागुन १७ गते १३:०७

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाले हालसम्म (ख) वर्गका अपाङ्गता भएका दुई सय ५०, दीर्घरोगी ४०, सहिद तथा बेपत्ता परिवार ७१, जनयुद्ध तथा जनआन्दोलनका घाइते २९, महिला स्वास्थ्य स्वयंसेविका ७८ र वृद्धाश्रमका पाँचजना गरी चार सय ६१ जनाको स्वास्थ्य बीमा गरेको नगर उपप्रमुख सीता थापाले राससलाई जानकारी दिए ।

स्वास्थ्य बीमा कार्यक्रम सुरू भएपछि उत्साहजनकरूपमा लक्षित वर्गभित्र पर्ने नागरिक बीमामा आबद्ध भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटा बताए । उनले नागरिकको स्वास्थ्योपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको बताए ।

स्वास्थ्य बीमा गर्दा नियमितरूपमा औषधि सेवन गर्नेुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा एक लाखसम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको नगरपालिका–५ स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी गमली गुरुङ बताए । उनका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको छ ।

ऋण खोजेर भए पनि पैसा बोकेर अस्पताल जानुपर्छ भन्ने स्थानीयहरू अहिले बीमाको कार्ड बोकेर अस्पताल गए उपचार पाइन्छ भन्ने अवस्थामा पुगेको नगरापालिका स्वास्थ्य संयोजक शिव पुरीको अनुभव छ ।

प्रतिक्रिया