अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं ।झापाको कमल गाउँपालिका–३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित गौरीगंज गाउँपालिका–२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा हेमरमले गौरीगंज गाउँपालिका–२ बस्ने २६ वर्षीय सम टुडुको प्र.१–०१–००१ ह ९९१० नम्बरको अटोमा उक्त पदार्थ राखी ल्याएको र अन्य समयमा समेत अटोमा लागूऔषध ओसारपसारमा सहयोग गर्ने गरेको खुलेपछि टुडुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ स्थित पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुर बस्ने २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र प्रहरी चौकी झुलुङगेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीको भजनी नगरपालिका–३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका–६ बस्ने २१ वर्षीय अबिन चौधरी र २४ वर्षीय दिल बहादुर कठरीया रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–१० चौबिसकोठी चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो र स्रोत नखुलेको नगद २ लाख १६ हजार ५ सय रूपैयाँसहित कालिकोट पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बमलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया