साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

नेपालखोज २०८० फागुन २२ गते ११:५१

धनकुटा । अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको धनकुटाको नाम्जे गाउँ अहिले आफ्नो साख जोगाउने सङ्घर्षमा छ ।

भारतीयमूलका अमेरिकी नागरिक राजीव गोयलको पहलमा सिएनएनले विसं २०६८ मा आफूले घोषणा गरेको विश्वका १२औँ गन्तव्यमध्ये नाम्जे गाउँलाई आठौँ गन्तव्य सूचीमा राखेको थियो ।

जिल्लाको सागुरीगढी गाउँपालिका–६ स्थित सो गाउँलाई सिएनएन टोलीले स्थलगत भ्रमण गरेपछि विभिन्न नौ सूचकका आधारमा नाम्जेलाई आफ्नो गन्तव्य सूचिमा राखेको थियो । सो समयमा सिएनएनले नाम्जे क्षेत्रका आत्मघर, नाम्जे विद्यालय, पम्पिङ खानेपानी, विभिन्न एफएम टावरहरू, मगर जातिको हुर्रा नाच, हात्तीसुँडे झरना, लोप्सेडाँडा, सूर्योदय बुद्धबिहार र आग्र्यानिक गाउँलाई आधार मानेर नाम्जेलाई आठौँ गन्तव्य घोषणा गरेको थियो ।

तर समय क्रमसँगै भएका विकास र परिवर्तनका कारण आठ सूचकहरू यथावत रहेपनि आग्र्यानिक नाम्जे गाउँ भने क्रमशः सहरमा परिणत भएपछि नाम्जेलाई आफ्नो सूचक जोगाउने सङ्कट आइपरेको छ ।

विश्वको गन्तव्य सूचीमा परेको चर्चाका कारण यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा एकाएक वद्धि भएर व्यापारिक चहलपहल बढेपछि नाम्जेगाउँ सहरोन्मुख भएको स्थानीय गोविन्दबहादुर मगरले जानकारी दिए । ‘सुरुमा दुई–चारजनाले होटल खोेल्दा खुब चले’, उनले भने, ‘त्यसपछि प्रतिस्पर्धा सुरु भएर नाम्जेगाउँको सडक क्षेत्रमा पक्की होटलको सङ्ख्या बढेर गयो ।’

उक्त समयमा कङ्क्रिटका होटल बनाउने कुरामा बृहत् बहस भए पनि निजी स्वामित्वमाथि कसैले हस्तक्षेप गर्न नमिलेको कारण नाम्जेको सडक क्षेत्र सहरमा परिणत भएको मगरले जानकारी दिए । पर्यटकको बाक्लो आवागमन र व्यापारिक चहलपहलका कारण बैंकले पनि नाम्जेमा तीव्र लगानी गरेका कारण नाम्जेमा क्रमश होटलका लागि ढलान घर बन्न सुरु भएको ५१ वर्षीय मगरले जानकारी दिए ।

अहिले नाम्जेको सडक क्षेत्रमा पर्यटकलाई लक्षित गरेर बनाइएका २५ भन्दा बढी सुविधासम्पन्न होटलमध्ये २० भन्दा बढी स्थानीयवासीको रहेको उनले जानकारी दिए । सागुरीगढी–६ वडाका वडाध्यक्ष दीपक मगरले निजी स्वामित्वमा जमिनमा अरुले हस्तक्षेप गर्न नमिल्ने भएका कारण नाजे गाउँ सहरमा परिणत हुनु स्वाभाविक रहेको जिकिर गरे ।

प्रतिक्रिया