‘पकेट’ क्षेत्रमै सुन्तलाको बोट मर्न थालेपछि किसान चिन्तित

फिक्कल (इलाम) । गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाखमात्र आम्दानी दियो । सुन्तलाको मूल्य घटेर नभइ अज्ञात रोगले बोट मरेपछि आम्दानी पनि घटेको हो ।
यस वर्ष बोट मरेका कारण सुन्तला नफलेपछि अधिकारीको परिवारलाई आफ्नो परिवार चलाउन त्यति सहज छैन । ‘विगतका वर्षहरूमा बर्सेनि सुन्तला बिक्रीबाट दुईदेखि दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर, यस वर्ष रोगले सुन्तला फलेन’, उनले भने, ‘बल्लतल्लएक लाख आम्दानी गरियो, उत्पादन नै नभएपछि आम्दानी पनि घट्यो ।’
व्यावसायिक सुन्तलाखेती गर्दै आएका किसान अधिकारीको बगैँचामा पहिले एक सय ५० बोटसम्म थियो अहिले यो सङ्ख्या घटेर ७० मा सीतित भएको छ । रोगको पहिचान नभएको रोगका कारण अधिकांश बोट मरेका छन् । केही बोट मर्न थालेका छन् । बाँकी बोटमा पनि अन्य समयको जस्तो सुन्तलाका दाना फलेन । फलेका दाना पनि साना र स्वादमा समेत अमिलो हुने गरेको उनले बताए ।
सुरुमा रोगको सामान्य मात्र लक्षण देखिएको थियो । सुन्तलाको बोट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने, पात झर्ने र विस्तारै जरा कुहिएर बोट नै मर्ने समस्या उत्पन्न भएको उनले बताए । रोग नियन्त्रणका लागि विभिन्न विज्ञको टोली आए पनि कुनै उपलब्धि नभएको उनले बताए ।
‘हामीले रोग नियन्त्रणका लागि विभिन्न निकायमा हारगुहार गर्यौँ, विज्ञको टोली पनि आए’, उनले भने, ‘तर टोलीले स्थलगतरूपमा अनुगमन गरे पनि रोग पत्ता लागेन । के कारणले सुन्तलाको बटो मरेको भन्ने कारणसमेत जानकारी गराएन ।’ रोग नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान गए सुधार हुने आशा अझै रहेको उनले सुनाए ।
किसान अधिकारीको मात्र होइन, अन्य किसानको पनि अवस्था उस्तै छ । किसान देवराज खनालले सुन्तलाको बगान नै मासिएको बताए । वार्षिक दुई लाखको सुन्तला बेच्ने गर्नुभएका खनालको बगानमा यस वर्ष एक दान पनि सुन्तला नफलेको जानकारी दिए । ‘मेरो बगैँचामा ६० भन्दामाथि सुन्तलाको बोट थियो, सिजनमा रु दुई लाखसम्म आम्दानी दिन्थ्यो’, उनले भने, ‘तर मुख्य उत्पादन दिने बेलामा सबै बोट मरे, यसपटक बेचिएन ।’
प्रतिक्रिया